क्यानाडामा एक बालकले सिटबेल्ट बाँध्न नमान्दा उडान नै रद्द

क्यानाडामा एक बालकले सिटबेल्ट बाँध्न नमान्दा उडान नै रद्द

एजेन्सी : क्यानाडामा एक बालकले जहाजभित्र सिटबेल्ट बाँध्न नमानेपछि पूरै उडान नै रद्द भएको छ।

अगस्ट ६ तारिखमा पोर्टर एयरलाइन्सको एउटा जहाज भिक्टोरियाबाट टोरन्टो उड्ने तयारीमा थियो। तर, एक बच्चा आफ्नो सिटमा उभिएको र कुनै हालतमा सिटबेल्ट बाँध्न नमानेपछि उड्न लागेको जहाज टर्मिनलमै फर्काइएको एयरलाइन्सले जनाएको छ।

बच्चालाई सम्झाउने र बाहिर निकाल्ने प्रक्रियामा ढिलासुस्ती हुँदा मध्यरातपछि विमानस्थलको रनवे नै बन्द भयो भने उडान रद्द हुँदा अन्य यात्रुहरूलाई भोलिपल्टको टिकट दिएर फर्काउनुपर्यो।

एयरलाइन्सका अनुसार, सँगै रहेका अभिभावक र चालक दलका सदस्यले बच्चालाई सम्झाउने र सिटबेल्ट बाँध्ने प्रयास गरे पनि सफल भएनन्।

‘असुरक्षित अवस्थामा जहाज उडाउन नमिल्ने भएकाले चालक दलले जहाज फर्काएर ती दुई यात्रु (अभिभावक र बच्चा) लाई ओराल्ने निर्णय गर्यो’, एयरलाइन्सले भनेको छ।

बाल हवाई सुरक्षा विशेषज्ञ लिया टुसोले टर्बुलेन्स, टेकअफ वा ल्यान्डिङको समयमा सिटबेल्ट नबाँधिएका बालबालिका वा झोलाहरू उछिट्टिएर अन्य यात्रुलाई लाग्न सक्ने भएकाले चालक दलले पूरै जहाजको सुरक्षालाई प्राथमिकता दिएको बताइन्।

विगतमा पनि अमेरिकामा यस्ता घटना भएका छन्। सन् २०१८ मा साउथवेस्ट एयरलाइन्सले सिकागोबाट एटलान्टा उड्न लागेको जहाजबाट बाबु-छोरीलाई निकालेको थियो। बच्चा रोएर शान्त भइसकेको ५ मिनेटपछि पनि उनीहरूलाई निकालिएको भन्दै एक यात्रुले भिडियो नै भाइरल बनाएका थिए।

त्यस्तै, सन् २०१२ मा जेटब्लु एयरलाइन्सले पनि एउटा परिवारलाई जहाजबाट निकालेपछि उक्त परिवारले टेलिभिजनमै आएर ‘एयरलाइन्सले अमानवीय व्यवहार गरेको’ गुनासो गरेको थियो।

यद्यपि, एयरलाइन्सहरूले भने यात्रु र चालक दलको सुरक्षाका लागि नियम नमान्नेहरूलाई निकाल्नुको विकल्प नहुने बताउँदै आएका छन्।

साउन २६, २०८३ मंगलबार ११:४०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।