नाइजेरियामा आर्थिक सङ्कटमा १५ सय जोडीको सामूहिक विवाह: सरकारी सुविधा लिन ठगी धन्दा, वास्तविक प्रेमी छुट्याउनै मुश्किल!
एजेन्सी : उत्तरी नाइजेरियाको कानो शहर गत हप्ता उत्सव र उल्लासले भरियो। शहरका सडकहरू बेहुला–बेहुलीका समूहले भरीभराउ भए। उनीहरूका परिवार विवाहका पोसाक तयार पार्ने तथा अन्य आयोजित कार्यक्रमहरूमा सहभागी हुने क्रम कैंयौं दिनसम्म चल्यो।
यो सबै तयारी र भिड हो - कानो राज्य सरकारले आयोजना गरेको १५ सय जोडीको भव्य सामूहिक विवाहको।
विवाहकै लागि गत शुक्रबार रातो हिजाबमा सजिएका बेहुलीहरू र उही रङको टोपी तथा सेतो पोशाकमा सजिएका बेहुलाहरू शहरका परम्परागत मुस्लिम नेता 'अमिर' को दरबार पुगे। त्यहाँ आयोजित मुख्य समारोहमा उनीहरू आधिकारिक रूपमा पति-पत्नी बने।
शनिबार राज्यपाल अब्बा कबीर युसुफले नवविवाहित जोडीहरूका लागि 'वेडिङ ब्रेकफास्ट' (विवाहको सामूहिक भोज) आयोजना गरे। उनले नवविवाहित जोडीहरूलाई शुभकामना तथा आशीर्वाद दिए।
तर, उत्सवको यो चमकधमकका पछाडि गरिबी, चरम आर्थिक मन्दी र ठगीको कथा लुकेको छ। नाइजेरियामा विवाह गर्न ठूलो रकम खर्च गर्नुपर्छ। बढ्दो महँगीका कारण युवाहरूका लागि विवाह निकै खर्चिलो भएपछि कानो सरकारले करिब १० लाख अमेरिकी डलर खर्चेर यो योजना ल्याएको हो।
यो योजना विवाहका लागि आवश्यक ठूलो आर्थिक खर्च धान्न नसक्ने न्यून आय भएका मानिसहरूलाई लक्षित गरिएको हो। यस योजनाअन्तर्गत सरकारले बेहुलीको दाइजो तथा नवदम्पतीको पहिलो घरका लागि आवश्यक सामान र फर्निचर उपलब्ध गराउने गरेको छ।
यो वार्षिक कार्यक्रम सन् २०१२ मा तत्कालीन गभर्नरले सुरु गरेका थिए। त्यसबेला मुख्यतः एकल महिला र सम्बन्धविच्छेद गरिसकेका महिलासहित १०० जोडीले एमिरको दरबारमा विवाह गरेका थिए।
त्यसपछि आएका गभर्नरलेहरूले पनि यसलाई निरन्तरता दिएका छन्। विवाह गर्न चाहनेहरूको संख्या बढ्दै गएपछि हरेक वर्ष सहभागी जोडीको संख्या पनि बढेको छ। कार्यक्रममा बहुविवाह गर्ने मुस्लिम पुरुषका नयाँ विवाहहरू पनि समावेश हुन थालेका छन्।
यस वर्ष यो योजनाका लागि पाँच हजार जोडीले आवेदन दिएका थिए।
सामूहिक विवाहको सम्पूर्ण व्यवस्थापन शहरको इस्लामिक प्रहरी बल 'हिस्बाह' ले हेर्दै आएको छ। हिस्बाह कानोमा कार्यरत इस्लामिक धार्मिक प्रहरी संगठन हो। उनीहरूको मुख्य जिम्मेवारीमध्ये विवाह गर्न चाहने जोडीहरू वास्तविक र योग्य छन् कि छैनन् भनेर जाँच गर्नु पनि हो।
राज्य सरकारले प्रत्येक जोडीका लागि करिब १० लाख नाइरा (करिब ७३५ अमेरिकी डलर) खर्च गरेको छ। हिस्बाहका अनुसार प्रत्येक जोडीले पाउने सहयोग प्याकेजमा नयाँ घर सुरु गर्न आवश्यक पर्ने ओछ्यान, म्याट्रेस, तन्ना, सिरानी, फर्निचर र खाद्यान्न लगायतका घरायसी सामान प्रदान गरिन्छ।
यसका साथै प्रत्येक बेहुलीले एक लाख नाइरा दाइजो पाउँछन्। विवाहपछि आर्थिक रूपमा आत्मनिर्भर बन्न र साना व्यवसाय सुरु गर्न थप एक लाख नाइरा सुरुवाती रकम पनि दिइन्छ।
कार्यक्रममा सहभागी हुन चाहने सबै जोडीले अनिवार्य रूपमा एचआईभी, हेपाटाइटिस, गर्भावस्था र जेनोटाइप अनुकूलता सम्बन्धी पूर्ण मेडिकल परीक्षण गराउनुपर्छ।
नाइजेरियाको कमजोर अर्थतन्त्र र उच्च महँगीका कारण धेरै मानिसहरू सरकारी सूचीमा पर्न मरिहत्ते गरिरहेका छन्। स्थानीय पत्रकार युसुफ अली अब्दुल्लाहका अनुसार विवाहमा धेरै खर्च हुने र देशको आर्थिक अवस्था राम्रो नभएकाले मानिसहरू जसरी पनि सूचीमा पर्न खोज्छन्।
यसै कारणले सरकारी सुविधा पाउन अनेकौँ ठगीका प्रयासहरू समेत भएका छन्।
हिस्बाहका डेपुटी कमाण्डर-जनरल मुजाहिद अमिनुद्दिनका अनुसार केही जोडीले मेडिकल टेस्टको रिपोर्ट नै परिवर्तन गरेको भेटिएपछि अयोग्य घोषित गरिएका थिए। एक युवतीले सरकारी सुविधा लिनका लागि आफ्नै भाइलाई बेहुला बनाएर ल्याएकी थिइन्।
यस्तै, पहिले नै विवाह भइसकेका एक दम्पतीले आफूलाई नयाँ जोडीका रूपमा पेस गर्ने प्रयास गर्दा पक्राउ परेका थिए।
दुई हप्ताअघि सार्वजनिक गरिएको छनोट सूचीमा पर्नका लागि केही बिचौलियाहरूले घुस मागेको आरोप पनि परेको छ।
कानोका एक स्थानीय निवासीले आफूसँग सूचीमा पारिदिने भन्दै पैसा मागिएको तर पछि उनीहरू हिस्बाहका कर्मचारी नभएको पत्ता लागेको बताए। ती व्यक्ति र उनकी विवाह गर्ने भनिएकि महिला यस पटक छनोट भएनन्, तर उनीहरूले अर्को वर्ष फेरि प्रयास गर्ने बताएका छन्।
यी आरोपहरूबारे अमिनुद्दिनले भने, "हामीलाई केही व्यक्तिहरूले सूचीमा पारिदिने भन्दै पैसा मागेको जानकारी आएको छ। तर कानोका जनतालाई हामी के स्पष्ट पार्न चाहन्छौँ भने छनोट प्रक्रिया, मेडिकल जाँचदेखि लिएर दिइने घरायसी सामानसम्म सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा नि:शुल्क छ र सबै खर्च सरकारले ब्यहोर्छ।"
छनोट भएका ४३ वर्षीय कपडा व्यापारी राब्यु युसुफले आवेदन प्रक्रिया सहज रहेको बताए। "मसँग कसैले केही मागेको छैन, सरकारले नै सबै खर्च ब्यहोर्ने भनिएको थियो," उनले भने। उनकी नयाँ पत्नी आयशा औवाल नियमित रूपमा उनको पसलमा कपडा किन्न आउने गर्थिन्। पहिलो पत्नीबाट पाँच सन्तानका पिता युसुफ नयाँ जीवन सुरु गर्न पाएकोमा निकै खुसी छन्।
त्यस्तै २४ वर्षीया अमिना अल्हासनले पनि ४० वर्षीय नुरा अब्दुल्लाहीसँग विवाहको आवेदन दिँदा कुनै समस्या नभोगेको बताइन्। डम्बाट्टा गाउँका उनीहरू दुवैको विवाह पहिले परिवारले तय गरेको थियो र पछि उनीहरू हिस्बाहकहाँ पुगेका थिए। अमिनाले भनिन्, "सबै कुरा नि:शुल्क भयो। कानो सरकारको यो योजनाको म प्रशंसा गर्छु, किनकि यो नभएको भए बढ्दो महँगीका कारण हामीमध्ये धेरैले विवाह गर्न सक्ने थिएनौँ।"
शनिबारको विवाह भोजपछि नवविवाहित जोडीहरूलाई घरायसी सामान वितरण गर्ने कार्य सुरु भएको छ। कानो शहरमा यो विवाहको रौनक शान्त हुन र नवविवाहित दम्पतीहरूलाई नयाँ घर व्यवस्थितअझै केही दिन लाग्नेछ। (बीबीसीमा प्रकाशित फिचर सम्पादित अनुवाद)
साउन २४, २०८३ आइतबार १५:०६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।