पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको शरीरका अन्य भागमा पनि फैलियो क्यान्सर
एजेन्सी : पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डी तथा शरीरका अन्य भागहरूमा समेत फैलिएको र त्यो निकै पीडादायी रहेको उनका छोरा हन्टर बाइडेनले बताएका छन्।
बीबीसीको 'न्युजनाइट' कार्यक्रमसँगको अन्तर्वार्तामा हन्टर बाइडेनले आफ्ना ८३ वर्षीय बुबाको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्।
"क्यान्सर उहाँको हड्डी तथा त्योभन्दा अझ अघिसम्म फैलिएको छ," अनलाइनमा सार्वजनिक गरिएको भिडियोमा हन्टरले भनेका छन्, "यो निकै दर्दनाक छ र यसले उहाँलाई धेरै हदसम्म अशक्त बनाएको छ।"
बाइडेनले ह्वाइट हाउसबाट बाहिरिएको चार महिना नपुग्दै सन् २०२५ को मे महिनामा आफूलाई प्रोस्टेट क्यान्सर भएको बताएका थिए। त्यतिबेला पिसाबसम्बन्धी समस्या देखिएपछि परीक्षण गराउँदा उनलाई आक्रामक प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको थियो।
चिकित्सकहरूले उक्त क्यान्सर चौथो स्टेजमा पुगिसकेको र त्यो हड्डीसम्म फैलिएको सार्वजनिक बताएका थिए। त्यसपछि अक्टोबरमा उनका प्रवक्ताले उनी रेडिएसन र हर्मोन थेरापीमार्फत उपचाररत रहेको बताएका थिए।
सन् २०२० को चुनाव जित्दा बाइडेन अमेरिकी इतिहासमै राष्ट्रपति बन्ने सबैभन्दा पाका व्यक्ति थिए। सन् २०२१ देखि २०२५ सम्मको उनको राष्ट्रपतीय कार्यकालमा उनको शारीरिक स्वास्थ्य र मानसिक क्षमतालाई लिएर धेरै चर्चा हुने गरेको थियो।
बाइडेन गत जुन महिनामा सिकागोमा आयोजित पूर्वराष्ट्रपति बराक ओबामाको प्रेसिडेन्सियल लाइब्रेरी समर्पण कार्यक्रममा सहभागी भएका थिए। उनले सन् २००९ देखि २०१७ सम्म ओबामाको कार्यकालमा उपराष्ट्रपतिको रूपमा काम गरेका थिए।
बाइडेनको राष्ट्रपतीय संस्मरण आगामी नोभेम्बर १७ मा प्रकाशित हुने कार्यतालिका रहेको छ।
साउन २४, २०८३ आइतबार १३:४८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।