क्यानडाको डढेलो नियन्त्रणबाहिर, हजारौँ मानिस विस्थापित

क्यानडाको डढेलो नियन्त्रणबाहिर, हजारौँ मानिस विस्थापित

एजेन्सी : क्यानडाको पश्चिमी क्षेत्रको दुर्गम क्षेत्रमा तीव्र गतिमा फैलिएको डढेलोको आकार दोब्बर भएपछि हजारौँ मानिसहरू आफ्नो घर छाडी सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्।

शुक्रबार पहिलोपटक देखिएको ‘बाल्ड रेन्ज फायर’ शनिबारसम्म फैलिँदै ९५ वर्ग किलोमिटर क्षेत्रमा पुगेको ब्रिटिस कोलम्बियाको बीसी वाइल्डफायर सर्भिसले जनाएको छ। आगलागी ब्रिटिस कोलम्बियाका समरल्यान्ड र ओकानागन–सिमिल्कामिन जिल्लामा फैलिएको छ।

क्षेत्रीय जिल्ला ओकानागन-सिमिल्कामीनका आपतकालीन अधिकारी एरिक थमसनका अनुसार आगलागीको उच्च जोखिम मानिने यस क्षेत्रमा उनले देखेकामध्ये यो सबैभन्दा द्रुत गतिमा फैलिएको र यति छोटो समयमा विशाल रूप लिएको डढेलोहरूमध्ये एक हो।

उक्त डढेलो शनिबार बिहानसम्म पनि 'नियन्त्रण बाहिर' रहेको जनाइएको छ।

करिब १२ हजार जनसङ्ख्या रहेको समरल्यान्ड जिल्लाका सबै बासिन्दालाई सुरक्षित स्थानतर्फ जान क्षेत्र खाली गर्ने आदेश जारी गरिएको छ। अधिकारीहरूका अनुसार शनिबार बिहानैदेखि सम्पूर्ण समरल्यान्ड क्षेत्रभरि विद्युत् सेवा पनि अवरुद्ध भएको छ।

ब्रिटिस कोलम्बियाको सार्वजनिक स्वास्थ्य निकाय 'इन्टेरियर हेल्थ'का अनुसार ज्येष्ठ नागरिक आवास गृहसहित समरल्यान्डका विभिन्न केयर सेन्टरहरूमा रहेका सयौँ बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

घटनाबारे ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले सामाजिक सञ्जालमा लेखेका छन्, "रातभर र आज बिहानसम्म पहिलो उद्धारकर्ता, बिसी वाइल्डफायर सर्भिसका टोलीहरू, रोयल क्यानेडियन माउन्टेड प्रहरी, आपतकालीन व्यवस्थापन टोली र स्थानीय समुदायहरूले मानिसहरूलाई सुरक्षित राख्न र समरल्यान्ड नजिकैको आगो निभाउन निरन्तर काम गरेका छन्। उनीहरूले नागरिक र समुदायको सुरक्षाका लागि सम्भव भएसम्मका सबै प्रयास जारी राखेका छन्।"

डढेलोका कारण कति भौतिक संरचना वा घरहरू नष्ट भए भन्नेबारे अझै प्रस्ट भइसकेको छैन।

यसैबीच नजिकैका ओकानागन, पिचल्यान्ड र ओकानागन-सिमिल्कामीन जिल्लाहरूमा पनि क्षेत्र खाली गर्ने आदेशका साथै केही क्षेत्रमा आपतकालीन पूर्वचेतावनी जारी गरिएको छ।

शुक्रबार साँझ थमसनले ओकानागन-सिमिल्कामीन आपतकालीन सञ्चालन केन्द्रबाट फैलिँदै गरेको डढेलोबारे अध्यावधिक जानकारी दिइरहेका थिए। तर भोलिपल्ट बिहान आफ्नो गाडीबाट पोस्ट गरेको भिडियोमा उनले आफ्नै परिवारलाई सुरक्षित रूपमा बाहिर निकाल्न सो केन्द्र छाड्नुपरेको बताएका छन्। उनले भिडियोमा भनेका छन्, "आफ्नो परिवारलाई यहाँबाट सुरक्षित स्थानतर्फ लैजान मैले आपतकालीन सञ्चालन केन्द्र छाड्नुपर्यो। हामी दक्षिणतातर्फ जाँदै छौँ।"

क्यानडाको राष्ट्रिय सञ्चारमाध्यम सीबीसीका अनुसार ओकानागन क्षेत्रमा धेरै घोडा रहेकाले आगलागीका बीच स्थानीय बासिन्दाहरूले तिनलाई सुरक्षित स्थानमा सार्न निकै सास्ती भएको छ। केही बासिन्दाले आफ्ना घोडा सार्न नसकेपछि ती जनावरहरू आफैँ सुरक्षित स्थानतर्फ जान सकून् भनेर गोठ तथा बारका ढोकाहरू खुला छाडेका थिए। केही मालिकहरूले भने पछि फेला पर्दा आफ्ना जनावर चिन्न सजिलो होस् भनेर शरीरमा विशेष चिह्न वा रङसमेत लगाइदिएका छन्।

यस वर्षको ग्रीष्मऋतुमा क्यानडाभरि सयौँ डढेलोका घटनाहरू भएका छन्। गत जुलाई महिनामा ओन्टारियोमा मात्रै करिब २०० वटा डढेलोका घटना दर्ता भएका थिए, जसका कारण टोरोन्टोको वायु गुणस्तर केही दिनका लागि विश्वकै सबैभन्दा खराब अवस्थामा पुगेको थियो।

क्यानडाको डढेलोबाट निस्किएको धुवाँ अमेरिकाका मिनेसोटा र न्युयोर्क जस्ता राज्यहरूसम्म पुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि नयाँ भन्सार महसुल (ट्यारिफ) लगाउने धम्की समेत दिएका थिए।

साउन २४, २०८३ आइतबार १२:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।