‘एक्लो’ महसुस गरिरहेका प्रधानमन्त्री वालेन्द्रलाई मनिष झाको जवाफ : ‘जनताको साथमा रहे सरकार एक्लो हुँदैन’

‘एक्लो’ महसुस गरिरहेका प्रधानमन्त्री वालेन्द्रलाई मनिष झाको जवाफ : ‘जनताको साथमा रहे सरकार एक्लो हुँदैन’

काठमाडौं : पार्टीकै सांसदहरूबाट तीव्र आलोचना खेप्न परेपछि एक्लो महसुस गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले करिब दुई तिहाइ बहुमत प्राप्त गरेको सरकार एक्लो नभएको बाएका छन्।

बजारमा व्याप्त ग्यासको अभाव, महँगी र सरकारप्रति बढ्दो असन्तुष्टिपछि शुक्रबारको संसद् बैठकमा सत्तारुढ रास्वपाका सांसदहरूले तीव्र असन्तुष्टि पोखे। सरकारको कार्यशैलीमा सुधार आवश्यक रहेको औँल्याएका झाले समेत संकेतिक रूपमा असन्तुष्टि पोख्दै कालो चस्मा हटाउन सुझाव दिएका थिए। 

सांसद रमेश प्रसाईँले 'लाइनबाट अनलाइन' बनाउने चुनावी वाचा विपरीत नागरिकले ग्यासको लागि मध्यरातसम्म लाइन बस्न परेको देख्दा आफ्नो हातले आफैलाई झापड हान्न मन लागेको बताएका थिए। पूर्व उपसभामुख इन्दिरा राना र सांसद पारसमणि गेलालले ग्यास अभावले सर्वसाधारणले सास्ती भोग्न परेको भन्दै आक्रोश पोखेका थिए।

यस्तै, सांसद अमरेश कुमार सिंहले सरकार नागरिकका समस्यामा समयमै संवेदनशील नबनेको आरोप लगाएका थिए। बैठकमा वदनकुमार भण्डारीले सुनकोशीमा हाफ फालेका पराजुली दम्पतीको खोजीमा भएको ढिलाइ र टिका सङ्ग्रौलाले बढ्दो करको भारबारे असन्तुष्टि पोखेका थिए। 

पार्टीकै सांसदहरूबाट घेरिएपछि प्रधानमन्त्री शाहले मध्यरातमा सामाजिक सञ्जालमा आश्वासन दिँदै लेखे, "केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।" साथै उनले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ भन्दै लेखे "कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।"

पार्टीकै सांसदहरूले समेत आलोचना गर्न थालेपछि प्रधानमन्त्री शाहले आफू एक्लो परेको सन्देश दिएपछि त्यसमा सामाजिक सञ्जालमा प्रतिक्रिया आउन थालेका छन्। सोही क्रममा झाले शुक्रबार संसद्मा आफूले राखेको विषय स्मरण गराउँदै करिब दुई तिहाइ बहुमत प्राप्त सरकार एक्लो नहुने जवाफ फर्काए। जनताको साथमा रहिरहे सरकार एक्लो हुनुपर्ने अवस्था नआउने उनको भनाइ थियो। 

"परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौं। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन, तर सुधार गर्नै पर्ने केही पक्ष छन्," झाले सामाजिक सञ्जालमा लेखेका छन्, "यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सकारको साथमा छु। यहाँ कोही एक्लो छैन।"

साउन २३, २०८३ शनिबार १५:५३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।