थाइल्यान्डमा १४ वर्षे किशोरद्वारा घर र विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, हजुरबुबा-हजुरआमा र शिक्षकसहित ७ जनाको मृत्यु

थाइल्यान्डमा १४ वर्षे किशोरद्वारा घर र विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, हजुरबुबा-हजुरआमा र शिक्षकसहित ७ जनाको मृत्यु

एजेन्सी : थाइल्यान्डको राजधानी बैंककनजिकै एक १४ वर्षीय विद्यार्थीले आफ्नै घर र विद्यालयमा गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।  

घटनामा उनका हजुरबा–हजुरआमा र विद्यालयका पाँच शिक्षकको मृत्यु भएको थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले बताएका छन्। गोली चलाउने विद्यार्थीले पछि आफैंलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ। घटनाका क्रममा उनको साथमा ३० भन्दा बढी गोली बाँकी रहेको प्रधानमन्त्रीले बताएका छन्।

घटना कसरी भयो?

देवसिरिन नन्थाबुरी विद्यालयका कक्षा ९ मा अध्ययनरत ती छात्रले पहिले घरमा हजुरबा र हजुरआमाको गोली हानेर हत्या गरेका थिए। त्यसपछि उनी हजुरबाको ९ एमएम पेस्तोल र गोलीका थप बाकसहरू बोकेर विद्यालय पुगेका थिए। त्यसपछि बिहान करिब १० बजे विद्यालय भवनभित्र छिरेर उनले कक्षाकोठा-कक्षाकोठा चहार्दै अन्धाधुन्ध गोली चलाएका थिए।

सुरुमा गोलीको आवाजलाई विद्यार्थीहरूले पटाका पड्किएको ठानेका थिए। केही समयपछि लगातार गोली चलेपछि विद्यार्थी तथा विद्यालयका कर्मचारीहरू भागेर सुरक्षित स्थानमा पुगेका थिए।

कक्षा ७ मा अध्ययनरत एक प्रत्यक्षदर्शी छात्राका अनुसार उनी शिक्षिकासँग कुरा गरिरहेकै अवस्थामा बन्दुकधारीले एक्कासि गोली चलाएका थिए।  "उहाँ (शिक्षिका) मसित कुरा गर्दै हुनुहुन्थ्यो, उनी (बन्दुकधारी) आए र गोली हाने," ती छात्राले भनिन्। भागाभागका क्रममा थुप्रै विद्यार्थीहरू विद्यालयको पर्खाल नाघेर ज्यान जोगाउन सफल भएका थिए।  

आक्रमणपछि किशोरले आफैँलाई गोली हानेका थिए। आत्महत्या गर्दा पनि उनीसँग ३० भन्दा बढी गोली बाँकी नै रहेको थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले जानकारी दिएका छन्।

थाइल्यान्डका प्रधानमन्त्री चार्नविराकुल घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रारम्भिक अनुसन्धानबाट ती किशोर पढाइका कारण अत्यधिक मानसिक तनावमा रहेको र योजनाबद्ध रूपमा घटना गराएको देखिएको बताएका छन्। अन्य विद्यार्थीहरूसँगको सोधपुछका क्रममा उनी विद्यालयमा सहपाठीहरूबाट हेपिने (बुलिङ हुने) गरेको र हतियारप्रति अत्यधिक आकर्षित रहेको खुलेको छ।

प्रहरीका अनुसार आक्रमणमा प्रयोग गरिएको पेस्तोल किशोरका हजुरबुबाको नाममा कानुनी रूपमा दर्ता रहेको थियो। बाबुआमाको सम्बन्धविच्छेद भएकाले ती किशोर आफ्ना हजुरबुबा-हजुरआमासँगै बस्दै आएका थिए।  

प्रहरीले उनको घरबाट कम्प्युटर र अन्य उपकरणहरू नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।  उनका आमाबुबालाई पनि सोधपुछका लागि बोलाएको छ।

हतियार नियन्त्रण कानुन कडा बनाइने

यस घटनापछि थाइल्यान्डमा बन्दुक नियन्त्रणसम्बन्धी कानुन कडा बनाउन दबाब बढेको छ। प्रधानमन्त्री अनुतिनले सर्वसाधारणलाई हतियार बोक्न प्रतिबन्ध लगाउने गरी नयाँ कानुन ल्याउने प्रतिबद्धता जनाएका छन्। "नयाँ कानुन लागू भएपछि ड्युटीमा रहेका सरकारी अधिकारीहरूलाई मात्र हतियार बोक्न अनुमति दिइनेछ," उनले भने।

 दक्षिणपूर्वी एसियाली मुलुकहरूमध्ये थाइल्यान्डका नागरिकसँग सबैभन्दा बढी हतियार रहेको देश मानिन्छ, जसमध्ये ठूलो संख्यामा गैरकानुनी हतियारहरू रहेको अनुमान छ। साना हतियारसम्बन्धी अध्ययन अनुसार थाइल्यान्डमा प्रति १०० जना नागरिक बराबर करिब १५ वटा बन्दुक रहेका छन्।

थाइल्यान्डमा यस वर्ष विद्यालयमा भएको यो दोस्रो गोलीकाण्ड भएको बताइएको छ। यस घटनापछि देशमा हतियार नियन्त्रणसम्बन्धी कानुन थप कडा बनाउन सरकारमाथि दबाब बढेको छ।

प्रधानमन्त्री अनुतिनले नयाँ बन्दुक नियन्त्रणसम्बन्धी कानुन ल्याउने प्रतिबद्धता जनाएका छन्। प्रस्तावित कानुनअन्तर्गत सरकारी अधिकारीहरूले ड्युटीमा रहेका बेला बाहेक सर्वसाधारणले बन्दुक बोकेर हिँड्न नपाउने व्यवस्था गर्ने संकेत उनले दिएका छन्।

यसअघि फेब्रुअरीमा देशको दक्षिणी क्षेत्रमा भएको अर्को घटनामा एक शिक्षकको मृत्यु भएको थियो भने एक विद्यार्थी घाइते भएका थिए। उक्त घटनामा बन्दुकधारीले विद्यार्थी र शिक्षकलाई बन्धक बनाएको स्थानीय प्रशासनले जनाएको थियो।

गत वर्ष जुलाईमा बैंककको एउटा बजारमा एक बन्दुकधारीले पाँच जनाको हत्या गरेका थिए। मृतकमध्ये सुरक्षा गार्ड र एक विक्रेता पनि थिए। 

थाइल्यान्डको हालैको इतिहासमा एउटै व्यक्तिले गरेको सबैभन्दा घातक सामूहिक हत्या सन् २०२२ मा भएको थियो। त्यस घटनामा जागिरबाट बर्खास्त गरिएका एक पूर्वप्रहरीले देशको उत्तरपूर्वी क्षेत्रमा करिब तीन घण्टासम्म बन्दुक र चक्कुले आक्रमण गरेका थिए। उक्त घटनामा उनकी श्रीमती र छोरासहित ३६ जनाको मृत्यु भएको थियो। मृतकमध्ये २२ जना बालबालिका थिए, जसलाई डे-केयर सेन्टरमा सुतिरहेको अवस्थामा चक्कुले आक्रमण गरी हत्या गरिएको थियो।

त्यसअघि सन् २०२० मा एक सैनिकले नाखोन राचासपछि बन्दुकधारीले आफूलाई पनि गोली हानेका थिए।

२०२३ मा १४ वर्षीय किशोरले बैंककको सपिङ सेन्टरमा गोली चलाएका थिए। सन् २०२३ मा पनि १४ वर्षीय किशोरले बैंककको एउटा विलासी सपिङ सेन्टरमा गोली चलाउँदा दुई जनाको मृत्यु र पाँच जना घाइते भएका थिए।

उक्त घटनापछि तत्कालीन गृहमन्त्री रहेका अनुतिनले बन्दुक नियन्त्रणसम्बन्धी विभिन्न उपाय अघि बढाएका थिए। तीमध्ये नयाँ बन्दुक लाइसेन्स जारी गर्न अस्थायी रोक, बन्दुक आयातमा प्रतिबन्ध तथा २० वर्षभन्दा कम उमेरका व्यक्तिलाई शूटिङ रेन्जमा जान रोक लगाउने व्यवस्था पनि थियो।

दीर्घकालीन उपायअन्तर्गत बन्दुक मालिकको मानसिक स्वास्थ्य तथा मनोवैज्ञानिक अवस्थाको मूल्याङ्कन गर्ने मेडिकल प्रमाणपत्र आवश्यक बनाउने र केही बन्दुक लाइसेन्सको वैधता अवधि तोक्ने व्यवस्था पनि समावेश गरिएको थियो।

साउन २३, २०८३ शनिबार १२:१३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।