स्ट्रेट अफ हर्मुजबारे इरान र ओमानबीच प्रारम्भिक सहमति
एजेन्सी : स्ट्रेट अफ हर्मुजको व्यवस्थापनका लागि इरान र ओमानबीच एक ‘सामान्य ढाँचा’ मा सहमति जुटेको इरानी अधिकारीहरूले जनाएका छन्।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ताका अनुसार ओमानसँग प्रारम्भिक समझदारी बनेको छ, जसलाई अन्तिम रूप दिन उच्च तहको स्वीकृति प्राप्त हुन बाँकी छ। इरानले ओमानसँगको यो व्यवस्थालाई बृहत्तर क्षेत्रीय सुरक्षा ढाँचाको अंग बनाउन चाहेको अल जजिराले उल्लेख गरेको छ।
इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले खाडी क्षेत्रको सुरक्षा बाह्य शक्तिहरूले नभई स्वयं खाडी मुलुकहरूले नै गर्नुपर्ने बताएका छन्। यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानले छिमेकी खाडी राष्ट्रहरूसँग कुनै द्वन्द्व नचाहेको स्पष्ट पार्दै अमेरिका र इजरायलले खाडी मुलुकहरूलाई इरानविरुद्ध उभ्याउन खोजेको आरोप लगाएका छन्।
इरानका विदेशमन्त्री अब्बास अराग्चीले पनि मुस्लिम देशहरू एकजुट हुनुपर्ने र सुरक्षाका लागि बाह्य शक्तिमाथि निर्भर रहन नहुनेमा जोड दिएका छन्।
साउन २३, २०८३ शनिबार ११:१२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।