अमेरिकामा मेटालाई झन्डै १ अर्ब डलर जरिवाना

अमेरिकामा मेटालाई झन्डै १ अर्ब डलर जरिवाना

एजेन्सी : आफ्ना सामाजिक सञ्जाल प्लेटफर्मले बालबालिकामा पुर्याएको गम्भीर असर र जोखिमबारे सर्वसाधारणलाई जानकारी नदिएको भन्दै अमेरिकाको न्यु मेक्सिको राज्यको एक अदालतले ‘मेटा’ (फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी) लाई ५६ करोड ७० लाख डलर (५६७ मिलियन) जरिवाना तिराउने फैसला गरेको छ।

यसअघि नै सोही मुद्दामा तोकिएको ३७ करोड ५० लाख डलरसहित अब मेटाले कुल ९४ करोड २० लाख डलर (९४२ मिलियन) तिर्नुपर्नेछ। बालबालिकाको सुरक्षाको विषयलाई लिएर कुनै पनि सामाजिक सञ्जाल कम्पनीविरुद्ध भएको यो हालसम्मकै सबैभन्दा ठूलो जरिवाना हो।

न्यायाधीश ब्रायन बिडसिडले मेटालाई हावा प्रदूषित गर्ने एउटा कारखानासँग तुलना गरेका छन्। उनले भनेका छन्, ‘मेटाको उत्पादन भनेको विज्ञापन र कन्टेन्ट हो भने यसले बालबालिकामा पारेको मनोवैज्ञानिक असर र यौन शोषण चाहिँ हटाउनै पर्ने प्रदूषण हो।’

न्यायाधीशले मेटाका कारण सिर्जित समस्यालाई पब्लिक न्युसेन्सको संज्ञा दिएका छन्।

सन् २०२३ मा न्यु मेक्सिको राज्यले दायर गरेको मुद्दामा अदालतले मेटाको ‘रेकमेन्डेसन अल्गोरिदम’ (प्रयोगकर्तालाई उनीहरूको रुचिअनुसार सामग्री देखाउने प्रविधि) ले बालबालिकालाई हानिकारक सामग्री र यौन दुर्व्यवहार गर्ने व्यक्तिहरूसम्म धकेलेको ठहर गरेको छ।

जरिवानाको रकम कहाँ खर्च हुन्छ?
जरिवानाबाट उठेको रकम मेटाकै कारण बालबालिकामा परेको असर न्यूनीकरण गर्न खडा गरिने कोषमा राखिनेछ।

यसमध्ये ४२ करोड डलर बालबालिकाको मानसिक स्वास्थ्य उपचारमा खर्च गरिनेछ भने बाँकी रकम सामाजिक सञ्जालले निम्त्याउने जोखिमबारे शिक्षक तथा स्वास्थ्यकर्मीलाई तालिम दिन प्रयोग गरिनेछ।

जरिवानाका साथै अदालतले १८ वर्षमुनिका प्रयोगकर्ता (बालबालिका र किशोरकिशोरी) को हकमा कडा नियम लागू गर्न मेटालाई आदेश दिएको छ। अब मेटाले निम्न कुराहरू लागू गर्नुपर्नेछ:

- १८ वर्षमुनिका प्रयोगकर्ताको अकाउन्ट कुनै पनि वयस्क (१८ वर्षमाथिका) लाई 'सजेस्ट' गर्न र वयस्कले बालबालिकालाई म्यासेज पठाउन नपाउने व्यवस्था गर्ने।
- बालबालिकाहरूले नग्न तस्बिर पठाउन वा प्राप्त गर्न नसक्ने बनाउने।
- बाल यौन शोषणमा संलग्न वयस्क प्रयोगकर्तालाई एकैपटकमा सधैँका लागि प्रतिबन्ध (1-strike policy) लगाउने।
- १८ वर्षमुनिका प्रयोगकर्ताको पोस्टमा लाइकको सङ्ख्या लुकाउने।
- राति १० बजेदेखि बिहान ७ बजेसम्म पुस नोटिफिकेसन बन्द गर्ने। साथै, बिदाको दिनबाहेक स्कुल लाग्ने दिन बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म पनि नोटिफिकेसन पठाउन नपाइने।
- बालबालिकाले फेसबुक र इन्स्टाग्राम चलाउन महिनामा अधिकतम ९० घण्टा (दैनिक करिब ३ घण्टा) को मात्र समयसीमा तोक्ने।

मेटाको असहमति
मेटाका प्रवक्ताले यस फैसलाप्रति असहमति जनाउँदै माथिल्लो अदालतमा पुनरावेदन (अपील) गर्ने बताएका छन्।

कम्पनीले आफ्ना प्लेटफर्ममा प्रयोगकर्तालाई सुरक्षित राख्न कडा मेहनत गरिरहेको र तथ्यलाई बङ्ग्याएर लगाइएका आरोपको प्रतिवाद गर्ने दाबी गरेको छ।

मेटाले हाल अमेरिकाभर यस्तै हजारौँ मुद्दाहरूको सामना गरिरहेको छ।

आगामी हप्ता क्यालिफोर्नियामा ३० भन्दा बढी अमेरिकी राज्यले बालबालिकाको गोपनीयता हनन गरेको भन्दै मेटाविरुद्ध दायर गरेको अर्को ठूलो मुद्दाको सुनुवाइ सुरु हुँदैछ।

साउन २२, २०८३ शुक्रबार ०७:१०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।