सत्ताच्युत भएको दुई वर्षपछि शेख हसिनाको पहिलो पत्रकार सम्मेलन, डिसेम्बरमा बंगलादेश फर्किने घोषणा

सत्ताच्युत भएको दुई वर्षपछि शेख हसिनाको पहिलो पत्रकार सम्मेलन, डिसेम्बरमा बंगलादेश फर्किने घोषणा

नयाँ दिल्ली : सत्ताबाट बाहिरिएको दुई वर्षपछि बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट पहिलोपटक ‘भर्चुअल’ पत्रकार सम्मेलन गर्दै आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्।

बुधबार ‘साउथ एसिया फरेन करेस्पोन्डेन्ट्स क्लब’ले आयोजना गरेको कार्यक्रममा उनी भिडिओमा नआइकन ‘अडियो’मार्फत मात्रै पत्रकारहरूसँग जोडिएकी थिइन्।

सन् २०२४ को विद्यार्थी आन्दोलनपछि देश छाडेर भारत पुगेकी हसिनाले भनिन्, ‘म आफ्ना नागरिकमाझ फर्किनेछु। मलाई लोकतन्त्र र धर्मनिरपेक्ष परम्परामा पूर्ण विश्वास छ। उनीहरूले मलाई झुटा मुद्दामा फसाउने कोसिस गर्न सक्छन्, तर म डराउने छैन।’

उनले उपयुक्त समयमा फर्किने ठ्याक्कै मिति सार्वजनिक गर्ने बताइन्।

‘विद्यार्थी आन्दोलन शान्तिपूर्ण थिएन’
जुलाई-अगस्ट २०२४ को आन्दोलनलाई लिएर हसिनाले गम्भीर दाबी गरेकी छन्। उक्त आन्दोलन शान्तिपूर्ण नरहेको जिकिर गर्दै उनले भनिन्, ‘केही सङ्गठित समूहले विद्यार्थीको मागलाई हिंसात्मक राजनीतिक हतियार बनाए।’

आन्दोलनका क्रममा करिब ४६० प्रहरी चौकीमा आक्रमण भएको र ३ हजारभन्दा बढी प्रहरी मारिएको वा चरम यातनाको सिकार भएको उनको दाबी छ।

सन् २०२४ को विद्रोहमा सर्वसाधारण र विद्यार्थीमाथि ज्यान लिने कारबाहीको आदेश दिएको आरोपमा बंगलादेशको युद्ध अपराध अदालतले सन् २०२५ को नोभेम्बरमा हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

गत फेब्रुअरीमा चुनावपछि बीएनपी नेता तारिक रहमानले त्यहाँ प्रधानमन्त्रीको पद सम्हालेका छन्। वर्तमान प्रधानमन्त्री रहमानले हसिनाका कुनै पनि अभिव्यक्ति प्रकाशन वा प्रसारण नगर्न बंगलादेशी सञ्चारमाध्यमलाई चेतावनी दिएका छन्।

बंगलादेश सरकारले भारतसँग हसिनालाई सुपुर्दगी गर्न निरन्तर माग गरिरहेको छ। भारतले भने उक्त अनुरोध प्राप्त भएको र त्यसमाथि विचार गरिरहेको जनाएको छ।

साउन २१, २०८३ बिहीबार ०७:२१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।