मोदीविरुद्ध रिल र मीम बनाउने युवतीहरूलाई बलात्कारको धम्की र अनलाइन आक्रमण
एजेन्सी : भारतमा पछिल्लो समय भएको ठूलो सरकारविरोधी आन्दोलनका क्रममा सोसल मिडियामा रिल, मीम र व्यङ्ग्यात्मक भिडियो पोस्ट गर्ने धेरै युवतीहरूले गम्भीर अनलाइन दुर्व्यवहार, चरित्रहत्या र बलात्कारको धम्की सामना गरिरहेका छन्।
युवाहरूको नेतृत्वमा सञ्चालित ‘ककरोच जनता पार्टी’ नामक अभियानले भारतका शिक्षा मन्त्रीको राजीनामा माग्दै सडक प्रदर्शनका साथै इन्स्टाग्राम र सोसल मिडियालाई आफ्नो मुख्य हतियार बनाएको थियो।
जुलाई २० मा नयाँ दिल्लीस्थित संसद् भवनतर्फ मार्च गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस र लाठीचार्ज गरेको थियो।
उक्त प्रदर्शनका दृश्य, आन्दोलनका गीत र प्रहरी हस्तक्षेपका भिडियोहरू पोस्ट गरेर विद्यार्थीहरू रातारात सोसल मिडियामा चर्चित बनेका थिए। तर आन्दोलन साम्य भएसँगै प्रदर्शनमा सहभागी महिलाहरूलाई लक्षित गरी अनलाइनमा भयानक आक्रमण सुरु भएको छ।
के-कस्ता दुर्व्यवहार भए?
प्रदर्शनमा सहभागी युवतीहरूका अनुसार उनीहरूलाई व्यक्तिगत रूपमा खोजेर गालीगलौज गर्ने, तस्बिरहरू बिगारेर भाइरल बनाउने, अपशब्द तथा ‘आतङ्कवादी’ भनेर चरित्रहत्या गर्ने र घरमै आएर कुट्ने वा बलात्कार गर्ने धम्की दिने काम भइरहेको छ।
गम्भीर धम्की र डरका कारण धेरै युवतीहरूले सोसल मिडियाबाट आफ्ना भिडियोहरू हटाएका छन्, एकाउन्टहरू ‘प्राइभेट’ बनाएका छन् र नचिनेका नम्बरबाट आउने फोन उठाउन छाडेका छन्।
कन्टेन्ट क्रिएटरसमेत रहेकी एक २५ वर्षीय किशोरीले भनिन्, ‘मैले प्रहरीको लाठीचार्जपछि इन्स्टाग्राममा आफ्ना अनुभव सेयर गरेकी थिएँ। लगत्तै ममाथि अनलाइन आक्रमण सुरु भयो। प्रधानमन्त्रीको भनाइमाथि प्रश्न उठाएकै कारण मलाई गाली गरियो। मेरा पोस्टमा आउने विभत्स कमेन्टहरू देखेर मेरी आमा डराउनुभयो।’
अर्की २० वर्षीया कलेज छात्राको अनुभव पनि त्यस्तै छ। उनले त अझ राखेका भिडियोहरू नै डिलिट गर्नुपरेको बताइन्।
उनले भनिन्, ‘प्रदर्शनमा जानुअघि मैले ठट्टामा बनाएको एउटा भिडियो राष्ट्रिय टेलिभिजनमै देखाइयो। त्यसपछि मानिसहरूले मेरो कलेज पत्ता लगाएर मलाई पक्राउ गराउने र कुट्ने धम्की दिए। आफन्तहरूले समेत दबाब दिएपछि मेरा डराएका आमाबुबाका लागि मैले भिडियोहरू डिलिट गर्नुपर्यो।’
प्रदर्शनमा सहभागि मुस्लिम अधिकारकर्मी विद्यार्थीले भने, ‘मैले प्रधानमन्त्रीको व्यङ्ग्य गर्दै भिडियो बनाएकी थिएँ। पछि मेरो तस्बिर अर्कै पुरुषसँग जोडेर चरित्रहत्या गरियो र मलाई राष्ट्रघाती भनियो। मेरो मुस्लिम नाम भएकै कारण म पक्राउ पर्न सक्छु भनेर मेरा अभिभावक हरपल त्रासमा हुनुहुन्छ।’
पश्चिम बङ्गालकी अर्की छात्राको अनुभव पनि उस्तै छ। उस्तै विचार राखेका पुरुष साथीहरूमाथि केही नभएकोमा महिला भएकै कारण आफूमाथि यौनजन्य शब्दहरू प्रयोग गरेर आक्रमण भएको गुनासो गरिन्।
उनले भनिन्, ‘समान राजनीतिक विचार राख्ने मेरा पुरुष साथीहरूले कुनै दुर्व्यवहार भोग्नुपरेन। तर म महिला भएकै कारण ममाथि यौनजन्य शब्द प्रयोग गरेर आक्रमण गरियो। पुरुषसरह महिलाले अनलाइनमा आफ्ना विचार राख्न किन नपाउने?’
आन्दोलनका क्रममा बनेका भिडियोहरूले सरकारलाई दबाब दिन सहयोग पुर्याए पनि त्यसको ठूलो मूल्य अहिले युवतीहरूले चुकाउनुपरेको छ। भारतमा राजनीतिक वा सामाजिक विषयमा मुख खोल्ने महिलाहरू कसरी अनलाइन हिंसा र लैङ्गिक आक्रमणको शिकार हुन्छन् भन्ने कुरा यस घटनाले फेरि उजागर गरिदिएको छ।
साउन २०, २०८३ बुधबार १२:५७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।