सरकारसँग १९ बुँदे सहमतिपछि नर्स ज्योति रानाभाटले तोडिन् आमरण अनशन

सरकारसँग १९ बुँदे सहमतिपछि नर्स ज्योति रानाभाटले तोडिन् आमरण अनशन

काठमाडौं : सरकारसँग १९ बुँदे सहमति भएपछि नर्स ज्योति रानाभाटले आफ्नो आमरण अनशन तोडेकी छन्।

साउन १४ गतेदेखि अनशनरत रानाभाटले अनशनको सातौं दिन, साउन २० गते बिहान २:३५ बजे वीर अस्पतालमा अनशन तोडेकी हुन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र नर्स रानाभाटबीच मध्यराति १९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सरकारका तर्फबाट मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन्।

मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीकी स्वकीय उपसचिव प्रकृति ढकाललगायत विभिन्न मन्त्रालयका प्रतिनिधि र अभियन्ताहरूको रोहबरमा उक्त सहमति भएको हो।

के छ सहमतिमा ?
सहमतिपत्रको पहिलो बुँदामा नै नर्स तथा मिडवाइफलगायत स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सम्मानजनक सेवा-सुविधा (सर्त) निर्धारण गर्न मन्त्रालयले ७ दिनभित्र एउटा कार्यदल गठन गर्ने उल्लेख छ।  उक्त कार्यदलले कम्तीमा ६ महिनाभित्र आफ्नो काम सम्पन्न गर्नुपर्नेछ।

यसैगरी, छात्रवृत्तिमा अध्ययन गरेका नर्सिङ कर्मचारीको परिचालन, ‘नर्सिङ प्रोसेस’ र ‘नर्सिङ केयर प्लान’ लागू गर्ने, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनको कार्यान्वयन गर्ने, र ‘एक स्वास्थ्यकर्मी-एक स्वास्थ्य संस्था’ मापदण्ड संशोधन गरी नर्सहरूलाई पनि लागू गर्ने लगायतका विषयमा सहमति जुटेको छ।

रानाभाटले गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा, सम्मानजनक सेवा–सुविधा, सुरक्षित स्वास्थ्य प्रणाली निर्माण र भ्रष्टाचारमुक्त, पारदर्शी तथा उत्तरदायी नेपाल नर्सिङ परिषद्को माग गर्दै साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिलको परिसरमा आमरण अनशन सुरु गरेकी थिइन्।

उनका मागहरूलाई तत्काल कार्यान्वयन गर्ने र दीर्घकालीन रूपमा नीतिगत सुधार गर्ने गरी सरकारले सम्बोधन गरेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको छ।

साउन २०, २०८३ बुधबार ०९:०३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।