वासिङ्टन डढेलो : ६० हजारभन्दा बढी मानिस विस्थापित, गभर्नरद्वारा आपतकाल घोषणा

वासिङ्टन डढेलो : ६० हजारभन्दा बढी मानिस विस्थापित, गभर्नरद्वारा आपतकाल घोषणा

एजेन्सी : अमेरिकाको उत्तर-पश्चिमी राज्य वासिङ्टनमा डढेलो फैलिएपछि ६० हजारभन्दा बढी मानिसहरू  विस्थापित भएका छन्। डढेलोका कारण करिब सात सय भवन पूर्ण रूपमा नष्ट भएका छन् भने १० हजारभन्दा बढी घरपरिवार विद्युत्‌ सेवाबाट बञ्चित भएका छन्।

वासिङ्टनको दोस्रो ठूलो सहर स्पोकेन वरिपरि फैलिएका तीनवटा ठूला डढेलो अझै नियन्त्रणमा आउन नसकेको अधिकारीहरूले जनाएका छन्। स्पोकेन वरिपरिका ओल्ड ट्रेल्स, फेयरभ्यु र अटम लेन क्षेत्रमा फैलिएका आगलागीलाई संयुक्त रूपमा ‘स्पोकेन कम्प्लेक्स फायर’ नाम दिइएको छ। अधिकारीहरूका अनुसार तीव्र हावाका कारण आगोले स्पोकेन नदीसमेत दुई पटक पार गरेको थियो।

स्पोकेनकी मेयर लिसा ब्राउनले यस परिस्थितिलाई 'आफ्नो क्षेत्रले सामना गरेको इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति' भएको बताएकी छन्। उनका अनुसार अधिकारीहरूले अहिले क्षति विवरण सङ्कलन गरिरहेका छन्। हालसम्म मानवीय क्षतिको आधिकारिक पुष्टि नभए पनि कम्तीमा १४ जना बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको स्पोकेन काउन्टीका शेरिफ जोन नोवेल्सले जानकारी दिएका छन्।

नेसनल गार्डका मेजर जनरल जेन्ट वेल्शले डढेलो प्रभावित क्षेत्रको अवलोकनपछि क्षतिलाई 'युद्धक्षेत्र' सँग तुलना गरेका छन्। उनका अनुसार इराक युद्धको समयमा देखिएको विनाशजस्तै दृश्य स्पोकेनमा देखिएको छ।

डढेलोका कारण १० हजारभन्दा बढी विद्युत् ग्राहक प्रभावित भएकामा सोमबारसम्म करिब आधा क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ।

परिस्थिति नियन्त्रणबाहिर गएपछि वासिङ्टनका गभर्नर बब फर्गुसनले राज्यभर आपतकाल घोषणा गरेका छन्। गभर्नर फर्गुसनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग परामर्श गरी संघीय सरकारसँग थप सहयोगको अनुरोध गरेका छन्। साथै, जोखिम कम गर्न राज्यभर खुला ठाउँमा आगो बाल्न प्रतिबन्ध लगाइएको छ।

डढेलो नियन्त्रणका लागि ९०० भन्दा बढी अग्निनियन्त्रकहरू खटिएका छन् भने छिमेकी राज्यहरूबाट थप जनशक्ति परिचालन गर्ने तयारी भइरहेको छ। स्पोकेनबाट सार्वजनिक भएका भिडियोहरूमा घरहरू आगोले जलेर ध्वस्त भएको, आकाशभरि बाक्लो धुवाँ फैलिएको तथा हेलिकोप्टरमार्फत आगो नियन्त्रणको प्रयास भइरहेको दृश्य देखिएका छन्।

अधिकारीहरूले अग्निनियन्त्रक विमान र हेलिकप्टरको उडानमा बाधा पुग्ने भएकाले डढेलो प्रभावित क्षेत्र वरिपरि ड्रोन उडाउन प्रतिबन्ध लगाएका छन्। आइतबार मात्रै ड्रोनका कारण २६ पटक उद्धार तथा आगो नियन्त्रण कार्य प्रभावित भएको जनाइएको छ।​​​​​​​

वाशिङ्टन राज्यको प्राकृतिक स्रोत विभागका अनुसार सोमबार बिहानसम्म राज्यभर १६ वटा ठूला डढेलो अझै नियन्त्रणबाहिर रहेका छन्। राष्ट्रिय मौसम सेवाले यसअघि नै तीव्र हावा र अत्यधिक सुख्खा मौसमका कारण डढेलोको जोखिम अत्यन्त उच्च रहेको चेतावनी दिएको थियो।​​​​​​​

मौसमविद्हरूका अनुसार हावाको गति केही कम भए पनि यसै  साताको अन्त्यतिर तापक्रम फेरि बढ्ने अनुमान छ। जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम र सुख्खा मौसमले यस्ता भीषण डढेलोको जोखिम र तीव्रता झनै बढाउँदै लगेको वैज्ञानिकहरूले बताएका छन्।

साउन १९, २०८३ मंगलबार ११:१६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।