पाँच दिनदेखि अनसनरत नर्स ज्योतिका माग सम्बोधन गर्न वार्ताको प्रयास भइरहेको स्वास्थ्यमन्त्री मेहताको भनाइ
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निसा मेहताले नर्सहरूको हकहितलगायतको विषयमा १५ बुँदे माग राख्दै पाँच दिनदेखि अनसन बसेकी ज्योति रानाभाटको सत्याग्रहप्रति गम्भीर ध्यानाकर्षण भएको र वार्ताका लागि निरन्तर प्रयास भइरहेको जनाएकी छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा मेहताले लेखेकी छन्, "म आफैँ स्वास्थ्यकर्मी भएको नाताले उहाँको माग र स्वास्थ्य अवस्थाप्रति संवेदनशील छु।"
संवादबाट समस्याको समाधान गर्न मन्त्रालयले सुरुदेखि नै वार्ता समिति, अतिरिक्त सचिव, सचिव तथा सम्बन्धित निकायमार्फत पटक-पटक संवाद र समन्वयको प्रयास गरेको उनको दाबी छ। स्वास्थ्य तथा शिक्षा सम्बन्धी संसदीय समितिका सभापति समेत वार्ताका लागि निरन्तर प्रयासरत रहेको उनको भनाइ छ।
"आज पनि सम्बन्धित पक्षहरूसँग पुनः वार्ता गर्ने तयारीमा छौं र सकारात्मक निष्कर्षमा पुग्न सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु," मेहताले फेसबुकमा लेखेकी छन्।
साउन १४ गते बिहीबारबाट नेपाल नर्सिङ परिषद्को प्राङ्गणबाट अनसन सुरु गरेकी उनको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि वीर अस्पताल लगिएको थियो। उनी अहिले वीर अस्पतालमा नै पाँच दिनदेखि अनसनरत छिन्।
रानाभाटले सरकारी, प्रतिष्ठान, निजी, सामुदायिक अस्पताल, मेडिकल कलेज तथा शिक्षण संस्थामा कार्यरत सम्पूर्ण नर्सिङ तथा मिडवाईफ्री जनशक्तिलाई तहगत योग्यता, दक्षता तथा जिम्मेवारीअनुसार सरकारको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक, सेवा-सुविधा, भत्ता तथा सम्मानजनक सेवा सर्त कानुनी रूपमा सुनिश्चित गरिनुपर्ने लगायतका नर्सका विभिन्न हकहितका विषयमा १५ बुँदे माग राख्दै अनसन बसेकी हुन्।
नर्सहरूको दरबन्दी सृजना गर्नुपर्ने, पीसीएल नर्सिङ तथा पीसीएल मिडवाइफ्री कार्यक्रममा शैक्षिक गुणस्तर कायम गर्न प्रवेश परीक्षा पुनः अनिवार्य गर्नुपर्ने जस्ता उनका माग छन्।
साउन १८, २०८३ सोमबार १५:५०:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।