मञ्चबाटै प्यालेस्टाइनको समर्थन गरेपछि ब्रिटिस ब्यान्ड ‘म्यासिभ अट्याक’लाई सिङ्गापुरमा प्रतिबन्ध
एजेन्सी : सिङ्गापुरमा आयोजित कन्सर्टका क्रममा प्यालेस्टाइनको समर्थनमा नाराबाजी गर्दै झण्डा फहराएपछि चर्चित ब्रिटिस सांगीतिक ब्यान्ड ‘म्यासिभ अट्याक’लाई सिङ्गापुर प्रवेश र कार्यक्रम प्रस्तुतिमा अनिश्चितकालीन प्रतिबन्ध लगाइएको छ।
गत जुलाई २९ को कन्सर्टमा ब्यान्डका सदस्यहरूले मञ्चबाट प्यालेस्टाइनको झण्डा देखाउँदै ‘फ्री प्यालेस्टाइन’ को नारा लगाएका थिए।
लगत्तै सिङ्गापुर प्रहरीले ब्यान्डका सदस्यहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्नुका साथै केही समयका लागि राहदानीसमेत जफत गरेको थियो।
सिङ्गापुरमा सार्वजनिक स्थलमा विदेशी झण्डा प्रदर्शन गर्न र राजनीतिक अभिव्यक्ति दिन कडा कानुनी प्रतिबन्ध छ।
सामाजिक तथा जातीय सद्भाव कायम राख्न यस्तो कानुन आवश्यक रहेको भन्दै प्रहरीले ब्यान्डलाई कडा चेतावनीसहित देश प्रवेशमा रोक लगाएको हो।
घटनापछि ब्यान्डले प्रतिक्रिया दिँदै आफूहरूमाथि भएको व्यवहारप्रति आश्चर्य र निराशा व्यक्त गरेको छ।
तर, प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउन पाएकोमा आफूहरूलाई गर्व रहेको ब्यान्डका सदस्यहरूले बताएका छन्।
साउन १८, २०८३ सोमबार ०७:४३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।