अमेरिकामा पत्रकारकी आमाको अपहरणकारीलाई फिरौती पत्रको भाषा शैलीको आधारमा खोजिँदै
एजेन्सी : अमेरिकी टेलिभिजन प्रस्तोता सवाना गुथ्रीकी ८४ वर्षीया आमा न्यान्सी गुथ्री अपहरण परेको ६ महिनापछि प्रहरीले अपहरणकारीले पठाएका दुईवटा फिरौती पत्र सार्वजनिक गरेको छ।
पत्रमा प्रयोग भएको ‘विशेष लेखन शैली’का आधारमा अपहरणकारीको पहिचान गर्न प्रहरीले सर्वसाधारणको सहयोग मागेको हो।
गत जनवरीमा एरिजोनास्थित आफ्नै घरबाट बेपत्ता भएकी न्यान्सीको खोजीमा अहिलेसम्म ठोस सुराग फेला परेको छैन।
सार्वजनिक गरिएको पहिलो पत्रमा बिटक्वाइनमार्फत ठूलो रकम फिरौती माग गरिएको छ भने त्यसको चार दिनपछि आएको दोस्रो पत्रमा न्यान्सीको हृदयघातका कारण मृत्यु भइसकेको र शव ‘प्रकृतिमै विसर्जन गरिएको’ दाबी गरिएको छ।

भाषा विज्ञहरूका अनुसार दुवै पत्र एउटै व्यक्तिले लेखेका हुन्। पत्रमा प्रयोग भएको व्याकरण, हिज्जेको त्रुटि र वाक्य जोड्न कमाको प्रयोगका आधारमा अपहरणकारीको शैक्षिक स्तर र भाषा शैलीको प्रोफाइल तयार पारिँदै छ।
प्रहरी र परिवारले पत्रको यो विशिष्ट लेखन शैली वा शब्द चयन कसैको बोली/लेखाइसँग मिलेमा तुरुन्त जानकारी दिन अपिल गरेका छन्।
साउन १८, २०८३ सोमबार ०७:३४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।