अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने

अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने

एजेन्सी : युरोपभर जारी लामो समयको खडेरी र अत्यधिक गर्मीका कारण ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हङ्गेरीले ४४ वर्षमा पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको छ। हङ्गेरीका प्रधानमन्त्री पिटर म्याग्यारले आइतबार यसबारे जानकारी दिएका हुन्।

युरोपमा तीव्र बन्दै गएको ऊर्जा सङ्कटको पछिल्लो प्रभावका रूपमा हङ्गेरीले आफ्नो प्रसिद्ध पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्नुपर्ने अवस्था आएको हो।

बुडापेस्टको दक्षिणमा रहेको उक्त केन्द्रले सामान्य अवस्थामा हङ्गेरीको करिब एक तिहाइ विद्युत् माग पूरा गर्दै आएको छ। केन्द्रका उपकरण चिस्याउन ड्यान्युब नदीको पानी प्रयोग गरिन्छ। तर मे महिनादेखि वर्षाको कमी र निरन्तरको उच्च तापक्रमका कारण नदीको जलस्तर अत्यधिक घटेको छ।

प्रधानमन्त्री म्याग्यारले सामाजिक सञ्जाल ‘एक्स’ मा ड्यान्युबको पानीको सतह थप घटेकाले पाक्स केन्द्रका बाँकी दुई उत्पादन एकाइमध्ये एउटालाई आइतबार बिहान बन्द गरिने बताएका छन्।

उनका अनुसार यससँगै केन्द्रको उत्पादन क्षमता घटेर २४० मेगावाटमा सीमित हुनेछ र अर्को दिन ४४ वर्षपछि पहिलो पटक केन्द्र पूर्ण रूपमा बन्द गरिनेछ।

यसअघि केन्द्र सञ्चालकले पानीको सतह निरन्तर घटेमा आगामी साताको मध्यसम्ममा पाक्स केन्द्र पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका थिए।

हङ्गेरीको राष्ट्रिय मौसम सेवा ‘हङ्गारोमेट’ले आगामी दिनमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरेको छ। बिहीबार तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ, जुन यस गर्मीयामको अहिलेसम्मकै उच्च तापक्रमसँग बराबर हुनेछ।

साउन १७, २०८३ आइतबार १५:००:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।