मस्कोको रेस्टुरेन्टबाहिर बम विष्फोट; तीन जनाको मृत्यु, २१ घाइते
एजेन्सी : रुसको राजधानी मस्कोस्थित एक इटालियन रेस्टुरेन्टबाहिर बम विष्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्।
रूसी सरकारी सञ्चारमाध्यमहरूले सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।
स्थानीय समय अनुसार बेलुकाको करिब ८ बजे मस्कोको केन्द्रनजिकै रहेको कुड्रिन्स्काया स्क्वायरस्थित बाल्जी रोसी रेस्टुरेन्ट बाहिर उक्त घटना घटेको हो।
रुसको राष्ट्रिय आतंकवाद विरोधी समितिका अनुसार विस्फोटक पदार्थ बोकेकी एक महिलाले रेस्टुरेन्टभित्र छिर्ने प्रयास गरेकी थिइन्। तर, प्रवेशद्वारमै तैनाथ सुरक्षा गार्डले रोकेपछि उनले बोकेको घरेलु विस्फोटक उपकरण विस्फोट भएको बताइएको छ।
विष्फोटमा परी बम बोक्ने महिला, सुरक्षा गार्ड र रेस्टुरेन्टमा आएका एक सेवाग्राहीको घटनास्थलमै मृत्यु भएको छ। घटनाका बेला उक्त रेस्टुरेन्टमा एक निजी समारोह आयोजना भइरहेको थियो।
अधिकारीहरूले आक्रमणको मुख्य निशाना को थिए भन्नेबारे केही खुलाएका छैनन्। यद्यपि, धेरै मस्कोवासीहरूले यस घटनालाई युक्रेन युद्धसँग जोडेर हेरेका छन्।
पछिल्ला वर्षहरूमा मस्को र यस आसपासका क्षेत्रमा रुसी सेनाका धेरै उच्च अधिकारीहरूको हत्या भइसकेको छ। रुसले ती पूर्व घटनाहरूमा युक्रेनको हात रहेको आरोप लगाउँदै आएको छ।
सुरुआती खबरहरूमा विष्फोट रेस्टुरेन्टको भान्सामा भएको भनिए पनि पछि रेस्टुरेन्ट प्रशासनले विज्ञप्ति जारी गर्दै विष्फोट रेस्टुरेन्टको बाहिर भएको स्पष्ट पारेको छ।
विष्फोट भएको रेस्टुरेन्ट मस्कोको प्रसिद्ध स्टालिन-युगको एक बहुतले भवनमा अवस्थित छ। घटनालगत्तै उक्त क्षेत्र वरपरका सडकहरू केही समयका लागि बन्द गरिएको थियो। सोही स्थाननजिकै साँझको साइकल र्यालीका लागि जम्मा भएका दर्जनौँ साइकल यात्रीहरूको कार्यक्रम पनि स्थगित गरिएको छ।
रुसी समाचार एजेन्सी आरआईएले सार्वजनिक गरेको भिडियोमा हतियारधारी प्रहरी अधिकारीहरूले घटना स्थललाई घेरेर अनुसन्धान गरिरहेको देखिन्छ।
साउन १७, २०८३ आइतबार १२:३०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।