मध्यपूर्वमा भीषण युद्धको सङ्केत, अमेरिकाद्वारा मध्यपूर्वमा सुरक्षा 'अलर्ट' जारी
एजेन्सी : अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षा स्थिति थप बिग्रिएमा तत्काल सो क्षेत्र छाड्न तयारी अवस्थामा रहन सुरक्षा 'अलर्ट' जारी गरेको छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता इरानमाथि थप सशक्त सैन्य कारबाहीको योजना बनाउन सक्ने विवरणहरू सार्वजनिक भइरहेका बेलामा विदेश मन्त्रालयले यस्तो चेतावनी जारी गरेको हो।
अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्व बाहिर रहेका कूटनीतिक नियोगहरू सहित विभिन्न अमेरिकी ठेगानाहरूलाई लक्षित गर्ने प्रयास भइरहेको जनाएको छ। मन्त्रालयले इरान र उसलाई समर्थन गर्ने समूहहरूले विश्वभर रहेका अमेरिकी नागरिक र भौतिक संरचनाहरूमाथि आक्रमण गर्न सक्ने आशंका व्यक्त गरेको छ।
यसअघि इरानले अमेरिकामाथि मध्यपूर्वी क्षेत्रमा तनाव बढाएको आरोप लगाउँदै अमेरिकासँग सैन्य सहयोग गर्ने यस क्षेत्रका कुनै पनि मुलुक युद्धको मारमा पर्न सक्ने चेतावनी दिएको थियो।
शनिबार जारी गरिएको अमेरिकी सुरक्षा अलर्टमा भनिएको छ, "मध्यपूर्वमा रहेका अमेरिकी नागरिकहरूले सावधानी अपनाउनुपर्छ, अतिरिक्त सतर्क रहनुपर्छ र उडानहरू रद्द हुने, समय-समयमा हवाई क्षेत्र बन्द हुने तथा यात्रामा पर्न सक्ने सम्भावित अवरोधका लागि तयार रहनुपर्छ।"
अमेरिकाले बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका आफ्ना दूतावासमार्फत यो सूचना पुनः जारी गरेको हो। क्षेत्रमा रहेका नागरिकलाई तत्काल प्रस्थानको तयारी गर्न र यस क्षेत्रको यात्रा गर्ने सोच बनाएका अन्य नागरिकलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न भनिएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूले जनाएअनुसार अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गरी सैन्य अभियानको योजना बनाइरहेका छन्। शुक्रबार ह्वाइट हाउसमा भएको क्याबिनेट बैठकमा यस्तो योजनाबारे छलफल भएको बताइएको छ।
यद्यपि, ह्वाइट हाउसका केही राजनीतिक सल्लाहकारहरूले भने प्रस्तावित सैन्य कदमको कडा विरोध गरेको बताइएको छ। क्याबिनेट बैठकका क्रममा राष्ट्रपति ट्रम्पले इरानमाथि निकै ठूलो प्रहार गर्ने र त्यसलाई उनीहरूले सहन नसक्ने भनेका छन्।
साउन १७, २०८३ आइतबार ०८:४४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।