इरानमा नयाँ सैन्य कारबाहीको अमेरिकी सङ्केत, तेहरानको जवाफी चेतावनी

इरानमा नयाँ सैन्य कारबाहीको अमेरिकी सङ्केत, तेहरानको जवाफी चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वासिङ्टनको युद्ध विरामका सर्तहरू स्वीकार गर्न बाध्य पार्ने प्रयास स्वरूप केही दिनभित्रै इरानको ऊर्जा पूर्वाधारमा हवाई आक्रमण गर्ने योजना बनाइ रहेको जनाइएको छ।

राष्ट्रपति ट्रम्प अझै अन्तिम निर्णयमा पुगी नसकेको तथा आन्तरिक छलफलहरू इरानी पूर्वाधार र ऊर्जा सुविधाहरूलाई लक्षित आक्रमणहरूमा केन्द्रित रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी समाचार पोर्टल एक्सियोसले उल्लेख गरेको छ।

विचाराधीन अभियानको उद्देश्य जारी युद्ध विराम वार्ताको बीचमा तेहरानमाथि दबाब बढाउनु रहेको जनाइएको छ। एक्सियोसले इजरायल पनि यस अपरेसनमा सामेल हुन सक्ने जनाएको छ। यस्तो संयुक्त कारबाहीले इजरायल विरुद्ध नयाँ इरानी क्षेप्यास्त्र आक्रमणहरू निम्त्याउन सक्ने रिपोर्टमा उल्लेख गरिएको छ। 

रिपोर्टका अनुसार, अमेरिकी अधिकारीहरूले यस क्षेत्रमा तैनाथ अमेरिकी सेनाहरूमाथि गरिएको आक्रमणपछि हालैका दिनहरूमा इरान ‘धेरै आक्रामक’ भएको आङ्कलन गरेका छन्। यो घटनाक्रम वाल स्ट्रिट जर्नलको एक रिपोर्टसँग मेल खान्छ जसमा राष्ट्रपति ट्रम्पले तेहरानलाई आत्म-समर्पण गर्न दबाब दिने उद्देश्यले नयाँ सैन्य अभियानको तयारीका लागि आदेश दिए। 

सिबीएस न्यूजले रिपोर्ट गरेअनुसार अमेरिका र इजरायलले पेट्रोलियम सुविधा पावर प्लान्टहरूलगायत ऊर्जासम्बन्धी सुविधाहरू विरुद्ध सम्भावित संयुक्त हवाई आक्रमणको लागि समन्वय गरिरहेका छन्। ह्वाइट हाउसका धेरै सहयोगीहरूले मन्त्री परिषद्को बैठकमा आपत्ति जनाएकाले राष्ट्रपति ट्रम्पले अभियानका लागि अन्तिम अनुमति नदिएको नेटवर्कले जनाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले वासिङ्टनमा राष्ट्रपति ट्रम्प र अमेरिकी युद्ध सचिव पीट हेग्सेथसँग छलफल गरेको केही दिनपछि मिडिया रिपोर्टहरू बाहिर आएका छन्।

राष्ट्रपति ट्रम्पले शनिबार यस विषयमा टिप्पणी गर्दै आसन्न सैन्य कारबाहीको सङ्केत गरेको जनाइएको छ। गत हप्ता होर्मुजको जलमार्गमा व्यापारिक जहाजहरूमा आक्रमण जारी रहेमा पुल वा पावर प्लान्टहरू नष्ट गर्ने भन्दै उनले चेतावनी दिए।

कूटनीतिक वार्ताको साथसाथै इरान, इजरायल र अमेरिका संलग्न सैन्य संलग्नता पाँच महिना भन्दा बढी समय देखि जारी छ।

यता तस्नीम समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेअनुसार इरानले इरानी पूर्वाधारमा सम्भावित आक्रमणको जवाफ दिन ‘व्यापक’ योजना तयार पारेको छ।

तस्नीमले एक वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै इरानले आफ्नो पूर्वाधार विरुद्ध सम्भावित अमेरिका र इजरायली आक्रमणको बारेमा अमेरिकी मिडियाको हालैको दाबीको जवाफमा ‘व्यापक’ योजना तयार गरेको जनाइएको छ। यो योजनाले मध्य पूर्व क्षेत्रमा महत्त्वपूर्ण इजरायली पूर्वाधार र अमेरिकी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दछ।

वाल स्ट्रिट जर्नलले अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले सेनालाई इरानमाथि नयाँ आक्रमण गर्न आदेश दिएको तथा आक्रमण यसै हप्तामा सुरु हुन सक्ने र केही दिनसम्म रहन सक्ने जनाइएको छ।

साथै, सिबीएस न्यूजले संयुक्त राज्य अमेरिका र इजरायलले इरानी ऊर्जा पूर्वाधार विरुद्ध तीव्र आक्रमणको तयारी गरिरहेको जनाएको छ। 

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बकर जोलकादरले शनिबार  इरानी मिडियाद्वारा प्रवमह गरिएको सन्देशमा चेतावनी दिँदै अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी र इरान विरुद्धका आक्रमण जारी राख्दा स्ट्रेट अफ होर्मुजमा थप तनाव सिर्जना हुने र नाकाहरू बन्द हुने जनाइएको छ। -रासस/एएनआइ

साउन १६, २०८३ शनिबार २०:०१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।