प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी
एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै भएको युवा नेतृत्वको विरोध प्रदर्शनका क्रममा आफू र आफ्नी दिवङ्गत आमामाथि गालीगलौज तथा दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिने बताएका छन्।
परीक्षाको प्रश्नपत्र चुहावटको विरोधमा भएको आन्दोलनका क्रममा केही युवाहरूले आफूमाथि दुर्व्यवहार गरेको भन्दै मोदीले उनीहरूलाई कानुनी सजायभन्दा पनि सही मार्गदर्शनको आवश्यकता रहेको उल्लेख बताए।
कक्रोच जनता पार्टी (सीजेपी) नामक अनलाइन समूहले परीक्षाको प्रश्नपत्र चुहावट (पेपर लीक), बढ्दो बेरोजगारी र कमजोर शासन प्रणालीविरुद्ध नयाँदिल्लीको जन्तरमन्तरलगायत देशका विभिन्न सहरहरूमा विशाल प्रदर्शन आयोजना गरेको थियो। प्रदर्शनका क्रममा प्रधानमन्त्री मोदीप्रति अपमानजनक शब्द प्रयोग गरिएका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मुद्दा दर्ता गर्नुका साथै मेटा र एक्स (ट्विटर) जस्ता कम्पनीहरूलाई त्यस्ता सामग्री हटाउन निर्देशन दिएको थियो।
शुक्रबार राति इन्स्टाग्राममार्फत सार्वजनिक भिडियो सन्देशमा ७५ वर्षीय मोदीले जन्तर मन्तरमा भएको घटनाप्रति टिप्पणी गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेको उल्लेख गरे।
उनले भने, "जन्तरमन्तरमा के भयो भन्ने कुरा देश र विश्वले देख्यो। केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरे। ती शब्दहरू मप्रति मात्र होइन, मेरी दिवङ्गत आमाप्रति पनि लक्षित थिए । तर म उनीहरूलाई माफ गर्न चाहन्छु।"
प्रदर्शनकारीविरुद्ध दर्ता भएका प्रहरी मुद्दाका विषयमा बोल्दै मोदीले युवावस्थामा हुने गल्तीलाई कानुनी कारबाहीभन्दा पनि उचित मार्गदर्शनमार्फत सुधार गर्नुपर्ने धारणा व्यक्त गरे।
गत महिना प्रश्नपत्र चुहावटको विरोधबाट सुरु भएको यो आन्दोलन चर्कँदै गएपछि चौतर्फी दबाबका कारण भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुपरेको थियो।
आन्दोलनकारी समूह ‘सीजेपी’ ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत नै लाखौँ युवाको समर्थन जुटाएको थियो। सो समूहको इन्स्टाग्राम खातामा दुई करोड ६० लाखभन्दा बढी फलोअर्स पुगेपछि प्रधानमन्त्री मोदीले पनि युवाहरूसँग प्रत्यक्ष संवाद गर्न यही प्लेटफर्मको प्रयोग बढाएका छन्।
साउन १६, २०८३ शनिबार १४:२४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।