विदेशबाट फर्किनेबित्तिकै किन अर्कै बन्छन् मानिस?
एजेन्सी : विदेशबाट फर्किँदा मानिसहरू चिनो मात्र ल्याउँदैनन्, कतिपयले त त्यहीँको लवज, पहिरन र हाउभाउ नै बोकेर आउँछन्।
केही महिना अष्ट्रेलिया, युरोप र अमेरिका पुगेर फर्किनेबित्तिकै कुरा गर्दा बोलीमा ‘यु नो’, ‘लाइक’, ‘लिट्रल्ली’ जस्ता शब्द घुसाउने वा केही दिन भारत घुमेर आउनेबित्तिकै ‘अच्छा’, ‘लेकिन’, ‘मालुम’ जस्ता हिन्दी शब्द मिसाउनेहरू प्रशस्तै भेटिन्छन्।
पपस्टार म्याडोनाले बेलायत बस्दा निकालेको नक्कली ‘ब्रिटिस लवज’ होस् वा केही समय अमेरिका, युरोप र अष्ट्रेलिया भुटान पुगेर फर्केपछि बोल्ने व्यक्तिहरू हुन्, यस्ता प्रवृत्तिलाई लिएर साथीभाइसँगको चिया गफ र सामाजिक सञ्जालमा ग्रुप च्याटहरूमा निकै उडाउने गरिन्छ।
आखिर विदेशबाट फर्किनेबित्तिकै मानिसहरू किन त्यहाँको लवज र शैली कपी गर्न थाल्छन् त? विज्ञहरूका अनुसार यसका पछाडि मुख्य ३ वटा मनोवैज्ञानिक कारण छन्ः
१. अनुभवसँग जोडिने चाहना र देखावटीपन
क्लिनिकल मनोवैज्ञानिक डा. शार्लोट रसेलका अनुसार, मानिसहरू आफू पुगेको ठाउँसँग भावनात्मक रूपमा जोडिन चाहन्छन्।
कतिपयले त्यहाँको राम्रो कुरालाई सम्मानस्वरूप सुटुक्क आफ्नो जीवनमा लागू गर्छन्। तर, कतिपयले चाहिँ ‘म धेरै घुमेको मान्छे हुँ’ भनेर अरुसामु रवाफ वा सुपेरियारिटी देखाउन जानीजानी विदेशी लवज र शैलीको प्रदर्शन गर्छन्।
२. आफूलाई ‘अथेन्टिक’ देखाउने होड
मानवशास्त्री तथा समाजशास्त्रका प्राध्यापक ग्यारेथ बार्किन यसलाई ‘मिमेटिक डिजायर’ (नक्कल गर्ने चाहना) भन्छन्।
हामीलाई आफ्नो व्यस्त र आधुनिक जीवनभन्दा घुम्न गएको ठाउँको संस्कृति बढी मौलिक र शान्त लाग्छ। त्यसैले, पर्यटकहरू अन्जानमै त्यहाँका मानिसको लवज र शारीरिक हाउभाउ कपी गरेर आफू पनि त्यस्तै ‘अथेन्टिक’ बन्न खोज्छन्।
३. सामाजिक प्रतिष्ठा र ‘विशिष्ट’ देखिने मोह
विज्ञहरूका अनुसार सबै देशको लवज कपी गरिँदैन। विशेषगरी बेलायत, अमेरिका वा युरोप जस्ता देशको लवज कपी गर्नुलाई ‘प्रेस्टिज बायस’ भनिन्छ। यसो गर्दा आफ्नो सामाजिक प्रतिष्ठा बढ्छ भन्ने मनोविज्ञान मानिसमा हुन्छ।
अर्कोतर्फ, हिजोआज सामाजिक सञ्जालको प्रभावले ‘कोभर्ट प्रेस्टिज’ (लुकेको प्रतिष्ठा)को ट्रेन्ड पनि बढेको छ। यसअन्तर्गत, मानिसहरू सामान्य पर्यटक जस्तो देखिन चाहँदैनन्।
उनीहरू ग्रामीण वा आदिवासी समुदायमा पुगेर त्यहीँको जस्तो लुगा लगाउने र त्यहीँको भाषा बोल्न खोज्छन्। यसको मुख्य उद्देश्य आफूलाई सामान्य पर्यटकभन्दा विशिष्ट देखाउनु हो।
यसले आफूलाई त आत्मसन्तुष्टि देला, तर वरिपरिका साथीभाइ र आफन्तका लागि भने यस्तो हर्कत अक्सर ‘देखावटी र हाँस्यास्पद’ मात्रै लाग्ने गर्छ।
एजेन्सीको सहयोगमा
साउन १६, २०८३ शनिबार १०:४६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।