८३ हजार जनसंख्या रहेको स्पेनको सिउटामा एकै दिन ६० हजार आप्रवासी छिरेपछि...
एजेन्सी : मोरक्कोबाट स्पेनको नियन्त्रणमा रहेको उत्तर अफ्रिकी सहर (एन्क्लेभ) ‘सिउटा’मा करिब ६० हजार आप्रवासी अनियन्त्रित रूपमा प्रवेश गरेपछि गम्भीर मानवीय र कूटनीतिक संकट उत्पन्न भएको छ।
यस ठेलमठेल र समुद्री बाटो पार गर्ने क्रममा कम्तीमा ५७ जना आप्रवासीको मृत्यु भएको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस घटनालाई ‘मानव तस्कर गिरोहको षड्यन्त्र’ र स्पेनको क्षेत्रीय अखण्डतामाथिको प्रहार भनेका छन्।
स्थिति नियन्त्रण बाहिर गएपछि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न स्पेनले सेना परिचालन गरेको छ। अधिकारीहरूका अनुसार हालसम्म करिब ४८ हजार आप्रवासी स्वेच्छाले मोरक्को फर्किसकेका छन्।
किन भयो यति ठूलो घुसपैठ?
समुद्री बाटो हुँदै आउने आप्रवासीलाई सीधै मोरक्को फर्काउन नपाइने भनी स्पेनको सर्वोच्च अदालतले हालै गरेको फैसलालाई तस्करहरूले गलत व्याख्या गरी हल्ला फैलाएपछि यो अवस्था आएको हो।
सिउटा सहरको कुल जनसंख्या करिब ८३ हजार छ। अहिले त्यहाँ ६० हजार जना आप्रवासी एकैपटक प्रवेश गरेपछि स्थानीय जनजीवन त्रस्त बनेको छ।

हजारौंको संख्यामा रहेका आप्रवासीहरू सडकमा खाना खोज्दै हिँड्न थालेपछि सुरक्षाका कारण स्थानीय पसलहरू बन्द गरिएका छन् भने मानिसहरू घरभित्रै थुनिएका छन्।
युरोपमा कूटनीतिक तरङ्ग र सेन्जेन निलम्बन
यस घटनाले युरोपेली युनियन (ईयू) भित्रै ठूलो विवाद निम्त्याएको छ। इटालीकी दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीले यसलाई युरोपको सुरक्षा चुनौती भन्दै स्पेनसँगको ‘सेन्जेन सम्झौता’ निलम्बन गरेकी छन्।

आफ्नो छिमेकी देशले संकटका बेला उल्टै यात्रा प्रतिबन्ध लगाएको भन्दै क्रुद्ध बनेको स्पेनले इटालीका राजदूतलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोधेको छ। स्पेनले इटालीको कदमलाई ‘अशोभनीय’ भनेको छ।
यसैबीच, ईयू प्रमुख उर्सुला भोन डेर लेनले सिउटाको दृश्य ‘अस्वीकार्य’ रहेको बताएकी छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अवस्थालाई ‘कमजोर कानुन र खराब व्यवस्थापनको उपज’ भनेका छन्।

जर्मनी, चेक रिपब्लिक र फिनल्यान्डका नेताहरूले पनि आप्रवासी फिर्ता लैजान मोरक्कोलाई दबाब दिएका छन्।
साउन १६, २०८३ शनिबार १०:०७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।