पाँच बुँदे सहमतिपछि काममा फर्किए चिकित्सक, देशभरका अस्पतालको ओपिडी सेवा सुचारु
काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आन्दोलित बनेको नेपाल चिकित्सक संघ(एनएमए)ले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएसँगै बिहीबार बिहानैदेखि देशभरका अस्पतालहरूको सेवा पूर्ववत् रूपमा सुचारु भएको छ।
गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालयसहित सरोकारवाला निकाय र चिकित्सक संघबीच बुधबार साँझ पाँच बुँदे सहमति भएपछि चिकित्सकहरू काममा फर्किएका हुन्।
आन्दोलन फिर्ता भएसँगै विगत केही दिनदेखि ठप्प रहेका देशभरका अस्पतालका बहिरङ्ग (ओपिडी) सेवा र आन्दोलनको केन्द्र बनेको नारायणी अस्पतालको अति आवश्यक ‘आकस्मिक (इमर्जेन्सी)’ सेवासमेत आज बिहानैदेखि नियमित रूपमा सञ्चालनमा आएको छ।
आकस्मिक र ओपिडी सेवा ठप्प हुँदा सास्ती भोग्न बाध्य भएका सर्वसाधारण बिरामीहरूले सेवा सुचारु भएसँगै ठूलो राहत महसुस गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा कानुन, गृह, उद्योग र स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी तथा चिकित्सक संघका प्रतिनिधिबीच बुधबार भएको वार्तामा पाँच बुँदे सहमति बनेको थियो।
सहमति लगत्तै संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगित गरी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियमित सेवामा फर्किन आह्वान गरेका थिए।
सहमतिमा के छ?
बुधबार भएको सहमति अनुसार नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार गर्ने व्यक्तिहरूलाई गृह मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ बमोजिम थप कडा कारबाही अगाडि बढाउनेछ।
त्यस्तै, स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त ऐन तथा मुलुकी अपराध संहिता २०७४ का केही प्रावधान संशोधन गर्न आगामी प्रतिनिधिसभाको अधिवेशनमा विधेयक पेस गर्ने गरी तत्काल प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।
उपभोक्ता संरक्षण ऐन २०७५ मा स्वास्थ्यसम्बन्धी विषयमा आवश्यक संशोधन गर्न ७ दिनभित्र र विगतमा भएका सम्झौता कार्यान्वयनका लागि ३ दिनभित्र छुट्टाछुट्टै कार्यदल गठन गर्ने सम्झौता पत्रमा उल्लेख छ।
गत साउन ९ गते बिहान मुटुको समस्या लिएर आएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र बाहिरबाट आएको समूहले नारायणी अस्पतालका डा. प्रमोद रामलगायतका स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण गरेका थिए।
आक्रमणकारीमाथि कडा कारबाही र कार्यस्थलमा भयरहित वातावरणको माग गर्दै चिकित्सक संघले देशभरका अस्पतालमा ओपिडी र नारायणी अस्पतालमा इमर्जेन्सी सेवासमेत ठप्प पारेर आन्दोलन छेडेको थियो।
साउन १४, २०८३ बिहीबार १०:०१:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।