बेलायतका गोदाममा चिनियाँ रोबोटको दबदबा, अटोमेसनले यसरी फेर्दैछ ‘अनलाइन सपिङ’को ट्रेन्ड
एजेन्सी : तपाईंले अनलाइन कुनै सामान अर्डर गर्न ‘क्लिक’ गर्ने बित्तिकै त्यसको प्याकिङ र डेलिभरीको प्रक्रिया केही मिनेटमै सुरु हुन्छ। तर, हिजोआज यो कामको सुरुवात मानिसले नभई भुइँमा गुड्ने अत्याधुनिक रोबोटहरूले गर्न थालेका छन्।
यी रोबोटहरूले वेयरहाउसभित्रका र्याकहरू आफैँ उचाल्छन् र आवश्यक सामान कामदारसम्म पुर्याउँछन्। पूर्वी चीनको हेफेई सहरस्थित ‘गिक प्लस’को कारखानामा निर्माण र परीक्षण गरिएका यस्ता हजारौं रोबोट यतिबेला विश्वभरका गोदामहरूमा खटिएका छन्।
बेलायतका ठूला रिटेल कम्पनीहरू जस्तै- टेस्को, आस्डा र नेक्स्टले अहिले यही चिनियाँ कम्पनीको प्रविधि प्रयोग गरिरहेका छन्।

सन् २०२५ मा हङकङमा सूचीकृत भएको ‘गिक प्लस’ हाल अटोनोमस मोबाइल रोबोट आपूर्ति गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी बनेको छ। परम्परागत अटोमेसनजस्तो स्थायी कन्भेयर बेल्ट नचाहिने यी रोबोटहरू भुइँमा कोरिएका क्युआर कोड र सामान्य सुरक्षा घेराको भरमा सजिलै सञ्चालन गर्न सकिन्छ।
बेलायतको श्रम अभाव र अटोमेसनको आवश्यकता
बेलायतले एक दशकभन्दा बढी समयदेखि सुस्त उत्पादकत्व वृद्धिको समस्या झेलिरहेको छ। आर्थिक सहयोग तथा विकास सङ्गठनका अनुसार, उत्पादकत्व बढाउन व्यवसायहरूले रोबोटिक्सको प्रयोगलाई बढावा दिनु अपरिहार्य भइसकेको छ।
बेलायत युरोपकै सबैभन्दा ठूलो ई-कमर्स र लजिस्टिक बजारमध्ये एक हो, तर यहाँका धेरै गोदाम अझै पनि अटोमेसनको प्रारम्भिक चरणमै छन्।

यही मौकाको फाइदा उठाउँदै ‘गिक प्लस’ले बेलायतलाई आफ्नो सबैभन्दा ठूलो युरोपेली बजार बनाएको छ। बेलायतस्थित साझेदार ‘मोसनटेक’ मार्फत १० वटा ठूला गोदाममा २ हजारभन्दा बढी यस्ता रोबोट परिचालन गरिसकिएको छ।
मोसनटेकका निर्देशक ब्यारी पेम्बरटन भन्छन्, ‘ग्राहकहरू छिटो जडान गर्न सकिने, थोरै जनशक्ति लाग्ने र उच्च भण्डारण क्षमता भएको समाधान चाहन्छन्। अहिले बेलायतमा चरम श्रम अभाव छ, त्यसैले व्यवसायलाई निरन्तरता दिन यो प्रविधि निकै महत्त्वपूर्ण बनेको छ।’

यद्यपि, करिब ६० लाख बेलायती कामदारको प्रतिनिधित्व गर्ने ट्रेड युनियन कङ्ग्रेसले रोबोटिक्सको प्रयोग श्रम कटौती गर्नका लागि मात्र नभई उत्पादकत्व बढाउन र रोजगारीको गुणस्तर सुधार्न प्रयोग हुनुपर्नेमा जोड दिएको छ। कामदारहरूलाई यस नयाँ प्रविधिबारे तालिम दिनुपर्ने युनियनको माग छ।
रोबोटिक्समा कसरी अगाडि बढ्यो चीन ?
चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘नयाँ गुणस्तरीय उत्पादक शक्ति’को विकास गर्ने लक्ष्य राखेसँगै बेइजिङले रोबोटिक्सलाई उच्च रणनीतिक प्राथमिकतामा राखेको छ।
घट्दो युवा जनसङ्ख्याको अभाव पूर्ति गर्न र उत्पादनमा आफ्नो विश्वव्यापी दबदबा कायम राख्न चीनले अटोमेसनलाई मुख्य हतियार बनाएको छ।
चीनको यो सफलता उसको विद्युतीय सवारीसाधनको इकोसिस्टमसँग जोडिएको ब्रुकिङ्स इन्स्टिच्युसनका अनुसन्धानकर्ता काइल चान बताउँछन्।

ईभीका लागि विकास गरिएका ब्याट्री, मोटर, क्यामेरा, सेन्सर र सेमिकन्डक्टरहरू नै अहिले रोबोटिक्समा प्रयोग भइरहेका छन्। चिनियाँ ईभी निर्माता कम्पनी ‘एक्सपेङ’ गत वर्ष सार्वजनिक गरेको मानवरूपी (ह्युमनोइड) रोबोट 'आइरन' यसैको उदाहरण हो।
अमेरिकाको प्रतिबन्ध र आगामी बाटो
चीनले विश्वव्यापी रोबोटिक्स उद्योगमा प्रभुत्व जमाउने महत्त्वाकांक्षा राखिरहँदा यसै साता अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै विदेशी निर्मित अत्याधुनिक रोबोटको आयातमा प्रतिबन्ध लगाएको छ।
वासिङ्टनस्थित चिनियाँ दूतावासले यसको विरोध गर्दै अमेरिकाले व्यापारिक मुद्दालाई राजनीतिकरण गरेको आरोप लगाएको छ।
यी भूराजनीतिक तनावका बाबजुद रोबोटिक्स कम्पनीहरू भने अब पूर्ण रूपमा स्वचालित ‘मानवरहित गोदाम’ को विकासमा लागिरहेका छन्।

‘गिक प्लस’ले सामान छान्नेदेखि प्याकिङ गर्नेसम्मका सबै काम रोबोटबाटै गराउने प्रविधिमा काम गरिरहेको छ। साथै, चीनका एजीबोट र युनिट्री जस्ता कम्पनीहरूले मानवरूपी रोबोटमा अर्बौं डलर लगानी गरिरहेका छन्।
यद्यपि, विज्ञहरूका अनुसार मानवरूपी रोबोटहरूले जटिल र सूक्ष्म कार्यहरू गर्न अझै केही वर्ष लाग्नेछ। तर, श्रमिक अभाव र उत्पादकत्वको दबाब झेलिरहेको बेलायत यतिबेला चीनको आगामी पुस्ताको प्रविधि परीक्षण गर्ने प्रमुख मैदान बनिरहेको छ।
साउन १४, २०८३ बिहीबार ०८:५१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।