जोर्डनस्थित अमेरिकी अखडामा इरानको मिसाइल आक्रमण, ट्रम्पले दिए कडा चेतावनी
एजेन्सी : जोर्डनमा रहेका अमेरिकी सैनिकमाथि इरानले राति अचानक मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान इरानविरुद्ध निकै आक्रामक भाषामा चेतावनी दिएका छन्।
फक्स न्युजका प्रमुख संवाददाता ट्रे यिङ्गस्टसँग कुरा गर्दै ट्रम्पले इरानलाई लक्षित गर्दै भने, ‘हामी उनीहरूलाई उनीहरूको औकात देखाइदिनेछौँ। हामी उनीहरूमाथि निकै जोडदार हमला गर्नेछौँ र उनीहरूले यसको कडा जवाफ पाउनेछन्।’
ट्रम्पका अनुसार जोर्डनमा तैनाथ अमेरिकी सैनिकहरूसँग इरानले प्रहार गरेका ब्यालेस्टिक मिसाइलहरूलाई रोक्न र आकाशमै खसाल्न केही मिनेटको मात्र समय थियो। मिसाइल रोक्ने क्रममा अमेरिकी सैनिकहरूले गरेको ‘रियल-टाइम’ समन्वय (तत्काल गरिएको प्रतिकार्य) को भिडिओ आफूले हेरेको पनि उनले बताए।
यसैबीच, अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले इरानले प्रहार गरेका सबै मिसाइलहरूलाई सफलतापूर्वक आकाशमै नष्ट गरिएको जनाएको छ। उता, जोर्डनको सेनाले पनि इरानका ५ वटा मिसाइललाई रोकेर नष्ट गरेको बताएको छ।
इरानको सैन्य बल ‘इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी)’ ले जोर्डनस्थित मुवाफ्फाक अल-सल्ती एयर बेस र अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको मुख्यालयलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ। आईआरजीसीले इरानको सरकारी समाचार एजेन्सी आईआरएनए मार्फत उक्त जानकारी दिएको हो।
यद्यपि, यस मिसाइल आक्रमणबाट तत्काल कुनै मानवीय क्षति वा भौतिक नोक्सानी भएको खबर भने प्राप्त भएको छैन।
साउन १४, २०८३ बिहीबार ०८:०३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।