युरोपमा डढेलोको कहर : ग्रिसमा दुई दमकलकर्मीको मृत्यु, स्पेनमा इतिहासकै ठूलो आगलागी

युरोपमा डढेलोको कहर : ग्रिसमा दुई दमकलकर्मीको मृत्यु, स्पेनमा इतिहासकै ठूलो आगलागी

एजेन्सी : दक्षिणी युरोपका विभिन्न देशहरू यतिबेला जङ्गलमा लागेको भयानक डढेलो र तातो हावा (हिटवेभ) को सामना गरिरहेका छन्।

ग्रिसको क्रिट टापुस्थित रेथिम्नो क्षेत्रको जङ्गलमा लागेको डढेलो निभाउने क्रममा दुई जना दमकलकर्मीको मृत्यु भएको छ। उनीहरू आगोको चेपुवामा परेका थिए। तीव्र गतिको हावाका कारण आगो झन् फैलिएपछि त्यहाँका धेरै गाउँहरू खाली गराइएको छ।

प्रत्यक्षदर्शीका अनुसार क्रिटमा धेरै ठाउँमा आगो लागेको छ र सबैभन्दा ठूलो आगो करिब १५ किलोमिटर क्षेत्रसम्म फैलिएको छ। ग्रिसका अन्य क्षेत्रहरू जस्तै पारोस, लेसबोस टापु र दक्षिणी सहर ट्रिफिलियामा पनि डढेलो लागेको छ।

यता स्पेनमा पनि डढेलोले विकराल रूप लिएको छ। प्रधानमन्त्री पेड्रो सान्चेजले राजधानी म्याड्रिड नजिकै लागेको आगो नियन्त्रणका लागि आगामी १२ घण्टा निकै ‘निर्णायक’ हुने बताएका छन्।

म्याड्रिडबाट करिब १५० किलोमिटर पश्चिममा रहेको एभिला प्रान्तको बुर्गोहोंडो क्षेत्रमा मात्रै ४३ हजार हेक्टरभन्दा बढी जमिन जलिसकेको छ।

यसलाई स्पेनको इतिहासकै सबैभन्दा ठूलो डढेलो मानिएको छ। यस वर्ष स्पेनमा मात्रै डढेलोका कारण २ लाख ७ हजार हेक्टरभन्दा बढी जमिन जलेर नष्ट भइसकेको छ।

त्यस्तै, दक्षिणी टर्कीको मुग्ला प्रान्तमा लागेको डढेलोका कारण फेथियेबाट अन्टाल्या जाने मुख्य राजमार्ग बन्द गर्नुपरेको छ भने एउटा अस्पतालका केही भागसमेत खाली गराइएको छ।

यसैबीच, स्पेन र फ्रान्समा यस वर्षको गर्मीयामको चौथो ‘हिटवेभ’ सुरू भएको छ। भर्खरै नियन्त्रणमा लिइएका डढेलो फेरि सल्कन नदिन दमकलकर्मीहरू निरन्तर खटिरहेका छन्।

साउन १४, २०८३ बिहीबार ०७:४१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।