पक्राउ पर्ने र मारिने जोखिमकै बीच शेख हसिनाको घोषणा

पक्राउ पर्ने र मारिने जोखिमकै बीच शेख हसिनाको घोषणा

एजेन्सी : भारतमा निर्वासित जीवन बिताइरहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले पक्राउ पर्ने, जेल जाने वा ज्यानै जान सक्ने जोखिमका बाबजुद आगामी डिसेम्बरसम्म स्वदेश फर्किने घोषणा गरेकी छन्। जनताको निरन्तरको आग्रहपछि आफूले यस्तो निर्णय लिएको उनको दाबी छ।

फ्रान्सेली समाचार एजेन्सी (एएफपी) सँग इमेलमार्फत अन्तर्वार्ता दिँदै ७८ वर्षीया हसिनाले आफ्नो भविष्यबारे आफू पूर्ण जानकार रहेको बताइन्। ‘मातृभूमि फर्किने मेरो निर्णय अटल छ। ज्यान जान सक्ने, पक्राउ पर्ने वा जेल सजाय भोग्नुपर्ने अवस्था आए पनि म त्यसको सामना गर्न तयार छु’, उनले भनेकी छन्।

विद्यार्थी नेतृत्वको आन्दोलनले उग्र रूप लिएपछि गत अगस्टमा उनको १५ वर्ष लामो शासन पतन भएको थियो। प्रदर्शनकारीले प्रधानमन्त्री निवास घेरेपछि उनी हेलिकोप्टरमार्फत भारत भागेकी थिइन्। संयुक्त राष्ट्रसङ्घका अनुसार उक्त आन्दोलन दबाउन सरकारले गरेको बल प्रयोगमा करिब १४ सय जनाको मृत्यु भएको थियो।

सोही मानवताविरुद्धको अपराधको आरोपमा ढाकास्थित एक अदालतले गत नोभेम्बरमा हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। यद्यपि, हसिनाले उक्त फैसलालाई ‘कानुनको आवरणमा गरिएको राजनीतिक प्रतिशोध’ को संज्ञा दिएकी छन्।

‘सुपुर्दगीको डर छैन, भारतमा सम्मानपूर्वक बसेकी छु’
हाल भारतको कुनै गोप्य स्थानमा बसिरहेकी उनले स्वदेश फर्किन आफूलाई कतैबाट बाह्य दबाब नआएको स्पष्ट पारिन्।

बङ्गलादेश सरकारले भारतसँग उनको सुपुर्दगी माग गरिरहेको सन्दर्भमा हसिनाले आफ्नो फिर्ती त्यससँग सम्बन्धित नभएको बताइन्। भारतीय अधिकारीहरूले सुपुर्दगीबारे आफूसँग कुनै छलफल नगरेको र त्यहाँ आफू सम्मानपूर्वक बसिरहेको उनको भनाइ छ।

आफ्नो शासनकालमा भएका गैरन्यायिक हत्या, विपक्षीमाथिको दमन र धाँधलीपूर्ण निर्वाचनको आरोपलाई उनले ठाडै अस्वीकार गरेकी छन्। मानवअधिकारवादी संस्थाहरूको आरोपलाई ‘राजनीतिक उद्देश्य प्रेरित’ भन्दै उनले हरेक घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गरिएको दाबी गरिन्।

विद्यार्थी आन्दोलनमा अत्यधिक बल प्रयोग गरिएको विषयमा पनि उनले बचाउ गरेकी छन्। आफ्नो सरकारले शान्तिपूर्ण समाधान खोजेको तर उक्त प्रदर्शन सामान्य नभई ‘योजनाबद्ध राजनीतिक अभियान’ भएको उनको तर्क छ।

आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति सहानुभूति व्यक्त गरे पनि हसिनाले घटनाप्रति माफी माग्न भने अस्वीकार गरिन्। आफ्ना निर्णयप्रति पछुतो छ कि छैन भन्ने प्रश्नमा उनले राज्यका निर्णय कुनै एक व्यक्तिको मात्र नहुने भन्दै पन्छिइन्।

बङ्गलादेश फर्केपछि प्रतिबन्धित अवस्थामा रहेको आफ्नो अवामी लिग पार्टीमार्फत पुनः सक्रिय राजनीति गर्ने वा नगर्ने विषयमा स्पष्ट जवाफ नदिएकी उनले आफ्नो लक्ष्य ‘सत्ता प्राप्ति नभई जनताको सेवा’ भएको जिकिर गरिन्।

साउन १३, २०८३ बुधबार १२:५०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।