अमेरिकाद्वारा चिनियाँ ‘ह्युमनोइड’ रोबोटमाथि प्रतिबन्ध

अमेरिकाद्वारा चिनियाँ ‘ह्युमनोइड’ रोबोटमाथि प्रतिबन्ध

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिनयाँ ह्युमनोइज रोबोटमाथि प्रतिबन्धन लगाएका छन्। ट्रम्प प्रशासनले ‘राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम’ रहेको भन्दै अमेरिकामा नयाँ विदेशी ‘ह्युमनोइड’ र चार खुट्टे रोबोट आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको हो।

रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासमा अहिले अमेरिका र चीनबीच को अघि बढ्ने भन्ने कडा होडबाजी चलिरहेको छ।

रोबोटका साथै अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसीसी) ले डाटा सेन्टर र सोलार प्यानलमा प्रयोग हुने ‘पावर इन्भर्टर’ आयातमा पनि रोक लगाएको छ। यी उपकरणले अमेरिकी अर्थतन्त्रमै जोखिम निम्त्याउन सक्ने आयोगको दाबी छ।

किन लगाइयो प्रतिबन्ध ?
एफसीसीका अध्यक्ष ब्रेन्डन कारले अमेरिकाको महत्त्वपूर्ण सप्लाई चेनलाई सुरक्षित राख्न यो कडा कदम चालिएको बताएका छन्। एफसीसीले यी विदेशी उपकरणहरूलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा मानिने ‘कभर्ड लिस्ट’ मा राखेको छ।

अमेरिकाको मुख्य चिन्ता भनेको जासुसी हो। एफसीसीका अनुसार विशेषगरी चिनियाँ रोबोट र इन्भर्टरहरूको प्रयोग गर्दा विदेशी सरकारले तिनलाई रिमोटमार्फत बन्द गरिदिने, महत्वपूर्ण डाटा चोर्ने वा साइबर आक्रमण गर्न सक्ने खतरा रहन्छ।

‘विदेशी रोबोटको प्रयोगले खराब नियत भएकाहरूलाई अमेरिकी नागरिकको जासुसी गर्न र रिमोटमार्फत रोबोटलाई आफ्नो नियन्त्रणमा लिन सजिलो बनाउँछ’, एफसीसीको भनाइ छ।

नयाँलाई मात्र रोक, पुरानालाई छुट
यद्यपि, यो प्रतिबन्ध नयाँ उत्पादन हुने विदेशी रोबोट र इन्भर्टरमा मात्र लागू हुनेछ। यसअघि नै एफसीसीबाट स्वीकृति पाइसकेका वा बजारमा उपलब्ध पुराना मोडेलको बिक्री वितरणलाई भने यसले रोक्ने छैन।

यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावास र प्रमुख चिनियाँ रोबोट निर्माता कम्पनीहरू ‘युनिट्री’, ‘युबीटेक’ र ‘एजीबोट’ले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

यो प्रतिबन्धलाई ट्रम्प प्रशासनले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँगको व्यापार युद्धकै एक हिस्साको रूपमा हेरिएको छ।

अमेरिकाले यसअघि नै चिनियाँ विद्युतीय सवारीसाधन (ईभी)मा भारी भन्सार शुल्क लगाएर आफ्नो बजारमा रोक लगाइसकेको छ। साथै, चीनको सैन्य आधुनिकीकरणलाई रोक्न र एआईमा आफ्नो दबदबा कायम राख्न अमेरिकाले अत्याधुनिक सेमीकन्डक्टर चीनलाई बेच्न बन्द गरिसकेको छ।

यसैबीच, अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले चिनियाँ एआई कम्पनीहरूले अमेरिकी बौद्धिक सम्पत्ति चोरेको आरोप लगाउँदै उनीहरूमाथि थप प्रतिबन्ध लाग्न सक्ने चेतावनी समेत दिएका छन्। तर, चिनियाँ सरकारले भने आफ्नो एआई विकास आफ्नै देशको मिहिनेत र अन्तर्राष्ट्रिय सहकार्यको नतिजा भएको दाबी गर्दै आएको छ।

पछिल्लो समय चिनियाँ प्रविधि कम्पनीहरूले फ्याक्ट्री र घरमा प्रयोग गर्न सकिने ह्युमनोइड रोबोटहरू तीव्र गतिमा विकास गरिरहेका छन्। एलोन मस्कको 'टेस्ला' र अमेरिकी कम्पनी 'बोस्टन डाइनामिक्स'लाई उछिनेर चिनियाँ कम्पनीहरूले आफ्ना रोबोट बजारमा ल्याइरहेका बेला अमेरिकाले यो नयाँ हतियार फालेको हो।

साउन १३, २०८३ बुधबार ०८:१०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।