फ्रान्सको बोर्डो सहर नजिक पुग्यो भीषण डढेलो, २ लाख २० हजारभन्दा बढी विस्थापित

फ्रान्सको बोर्डो सहर नजिक पुग्यो भीषण डढेलो, २ लाख २० हजारभन्दा बढी विस्थापित

एजेन्सी : फ्रान्सको दक्षिणपश्चिमी  क्षेत्रमा फैलिएको डढेलो बोर्डो शहरबाट करिब १५ किलोमिटर दूरी नजिक पुगेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ।

बोर्डोका मेयर थोमास काजेनाभले आवश्यक परे थप बस्तीहरू खाली गराएर ठूलो संख्यामा नागरिकलाई सुरक्षित आश्रयमा राख्न पूर्वतयारी गरिएको बताएका छन्।

राष्ट्रपति इमानुएल म्याक्रोंले आगलागी प्रभावित जिरोन्द क्षेत्रको निरीक्षण गर्दै यो दोस्रो विश्वयुद्धयताकै सबैभन्दा गम्भीर डढेलो संकट भएको बताएका छन्। उनका अनुसार अत्यधिक गर्मी र हावाका कारण आगो नियन्त्रणमा चुनौती थपिएको छ।

हालसम्म फ्रान्समा करिब दुई लाख २० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। जिरोन्द क्षेत्रमा मात्रै ४२ हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेको छ भने २४० घर पूर्ण रूपमा नष्ट भएका छन्। सेस्तास नगरका मेयर जेरोम स्टेफले यसलाई 'शताब्दीकै सबैभन्दा ठूलो डढेलो' भन्दै अवस्था अझै जोखिमपूर्ण रहेको बताएका छन्।

आगोलाई थप बस्तीतिर छिर्न नदिन अग्निनियन्त्रकहरूले सुरक्षा रेखा बनाइरहेका छन्, तर तीव्र हावा र उछिट्टिने झिल्काका कारण जोखिम उच्च नै छ।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले जनवरीयता देशभर १३ हजार ५ सयभन्दा बढी डढेलोका घटना दर्ता भएको र एक लाख १६ हजार हेक्टरभन्दा बढी क्षेत्र जलेको जानकारी दिएका छन्। गृहमन्त्री लोरेन्ट नुनेजले आगो 'आफ्नै ढंगले फैलिरहेको' भन्दै पूर्ण नियन्त्रणमा ल्याउन अझै समय लाग्ने बताएका छन्।

अधिकारीहरूका अनुसार १० मध्ये ९ वटा डढेलो मानवीय गतिविधिका कारण लाग्ने गरेका छन्। चुरोटका ठुटा, बारबेक्यु तथा सावधानी नअपनाई गरिएका काम मुख्य कारण भए पनि केही आगलागी नियोजित रूपमा लगाइएको आशंका गरिएको छ। केही ठाउँमा नियतवश आगो लगाइएको पाइएपछि गत जुलाई ६ देखि हालसम्म १६२ जनालाई पक्राउ समेत गरिएको छ।  

यता छिमेकी देश स्पेनको म्याड्रिड पश्चिम क्षेत्रमा फैलिएकोडढेलो अनियन्त्रित हुँदा एक लाखभन्दा बढी विस्थापित भएका छन्। 

विज्ञहरूले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, लामो खडेरी र तीव्र गर्मीका लहरले युरोपमा डढेलोको जोखिम निरन्तर बढाइरहेको बताएका छन्। युरोपेली युनियनको कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार युरोप विश्वव्यापी औषतभन्दा दोब्बर तीव्र गतिमा तातिरहेको महादेश बनेको छ। यसैका कारण युरोपभरि अत्यधिक गर्मी, पिउने पानीको संकट र भीषण डढेलोका घटनाहरू तीव्र रूपमा बढिरहेका छन्।

साउन १२, २०८३ मंगलबार ११:०५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।