अस्पतालहरूमा सेवा ठप्पको घोषणापछि स्वास्थ्य मन्त्रालयको अपिल : ‘सेवा नरोक्नुस्’
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पछिल्लो समय चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुर्व्यवहारका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार एक विज्ञप्ति जारी गरेर मन्त्रालयले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील र अत्यावश्यक सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई अपिल गरेको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनाहरूमा संलग्न दोषीहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन सरकारका सम्बन्धित निकायहरूले आवश्यक कार्य गरिरहेको उल्लेख छ।
मन्त्रालयले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नु र स्वास्थ्यकर्मीले सुरक्षित तथा सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न पाउनु सबैको साझा दायित्व भएको भनेको छ।
"स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा हो," विज्ञप्तिमा भनिएको छ, "चिकित्सा पेशाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्बाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई मन्त्रालय अपिल गर्दछ।"
मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा सहयोग, सहजीकरण तथा समन्वय गरिदिन सम्बन्धित सबै निकायहरूमा आग्रह समेत गरेको छ।
उपचारको क्रममा बिरामीको मृत्यु भएपछि उपचारमा लापरबाही गरेको भन्दै वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पतालमा तोडफोड भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ।
साउन १२, २०८३ मंगलबार ०९:५८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।