चिकित्सकमाथिको आक्रमणको विरोधमा मंगलबार देशभर आकस्मिक बाहेकका सेवा बन्द
काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने भएको छ।
नेपाल चिकित्सक संघले एक प्रेस विज्ञप्ति जारी गरेर साउन ९ गते नारायणी अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकहरूमाथि भएको आक्रमण र त्यसपछि स्थानीय प्रशासनबाट भएको दुर्व्यवहारको विरोधमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका बन्द गरिएको जनाएको छ।
उपचारको लागि नारायणी अस्पतालमा पुर्याइएका वीरगन्ज महानगरपालिका-२५ का ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि मृतकका आफन्तले उपचारमा लापरबाही भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड गरिएको थियो। घाइते भएका मेडिकल अफिसर डा प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ।
सोही घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा प्रहरी प्रशासनबाट संघका केन्द्रीय पदाधिकारी तथा नारायणी शाखाका अध्यक्ष लगायतलाई गालीगलौज र दुर्व्यवहार भएको संघको दाबी छ।
संघले आक्रमणमा परी गम्भीर घाइते भएका डा. प्रमोद राम लगायतका स्वास्थ्यकर्मीलाई न्याय दिन र दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ। साथै, चिकित्सकको मानमर्दन गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत कारबाही हुनुपर्ने माग राखिएको छ।
आन्दोलनका थप कार्यक्रमहरू तय गर्न संघले मंगलबार नै सर्वपक्षीय भेला बोलाएको छ। संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, "चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्यले गरेको दमनको विरोधमा मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्दछौं।"
अस्पतालमा उपचारका क्रममा पटेलको मृत्यु भएपछि स्थानीय प्रशासनको समन्वयमा नारायणी अस्पताल, पीडित परिवार, आफन्तजन र जनप्रतिनीधिबीच भएको वार्तामा उक्त घटनाको छानबिन गर्न छ सदस्यीय समिति गठन गर्ने सहमति भएको थियो। घटनाको सत्य तथ्य अध्ययन गर्न गठित छानबिन समितिलाई प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको थियो। छानबिन समितिको प्रतिवेदन नआउन्जेलसम्मका लागि आकस्मिक कक्षमा उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई कामकाजमा रोक लगाइएको छ। सोही घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न संघले माग गरेको छ।
साउन १२, २०८३ मंगलबार ०७:४८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।