‘कक्रोच’ आन्दोलनको क्रममा हिरासतमा लिइएका विद्यार्थी रिहा नभए आन्दोलन चर्काउने चेतावनी
एजेन्सी : भारतमा नीट परीक्षाको प्रश्नपत्र चुहावट र अनियमितताविरुद्ध आन्दोलनरत युवा समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले हिरासतमा लिइएका प्रदर्शनकारीहरूलाई तत्काल रिहा गर्न र उनीहरूमाथि लगाइएका मुद्दा फिर्ता लिन माग गरेको छ।
शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको दुई दिनपछि सोमबार एक विज्ञप्ति जारी गरेर सीजेपीले आफ्ना मागहरू पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएको छ। सीजेपीले असाम, पश्चिम बङगाल, बिहारलगायत राज्यमा विद्यार्थीलाई हिरासतमा राखिएको जानकारी प्राप्त भएको जनाएको छ।
“पक्राउ परेकालाई रिहा नगर्नु वा उनीहरूमाथि लगाइएका आपराधिक मुद्दा फिर्ता नलिनु जनविश्वासको उल्लङ्घन हुनेछ,” समूहले विज्ञप्तिमार्फत जनाएको छ। उसले आफ्ना माग पूरा नभए थप आवश्यक कदम चाल्ने चेतावनी दिएको छ।
प्रदर्शनकारीमाथि दण्डात्मक कारबाही नगर्ने आश्वासन अधिकारीले दिए पनि सरकारले आफ्नो प्रतिबद्धता पूरा नगरेको सीजेपीको आरोप छ। तीस वर्षीय जनसम्पर्क विषयका स्नातक अभिजित दिप्केले मे महिनामा सुरु गरेको उक्त आन्दोलनले सामाजिक सञ्जालमा ठूलो समर्थन पाएको जनाइएको छ।
प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै गत साता नयाँ दिल्लीसहित विभिन्न सहरमा मुख्यतः विद्यार्थीको सहभागितामा प्रदर्शन भएका थिए।
जुलाई २० मा नयाँ दिल्लीमा भएको प्रदर्शनले उग्र रूप लिएको थियो। प्रदर्शनकारीले जन्तरमन्तरबाट संसद् भवनतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार तथा लाठीचार्ज गरी भीडलाई तितरबितर गरेको थियो। त्यसक्रममा झडप हुनुका साथै धेरै प्रदर्शनकारीलाई हिरासतमा लिइएको थियो।
सोमबार संसद्मा पनि उक्त विषयले प्रवेश पाएको थियो। विपक्षी सांसदले गत साता प्रदर्शनकारीमाथि भएको प्रहरी कारबाहीबारे सरकारसँग जवाफ माग्दै पटक पटक सदनको कामकारबाही अवरुद्ध गरेका थिए। अवरोधबीच सरकारले तल्लो सदनमा परीक्षाको प्रश्नपत्र चुहावटमा सङ्गलग्नलाई कडा सजायको व्यवस्था गर्ने विधेयक प्रस्तुत गरेको छ।
साउन ११, २०८३ सोमबार १६:०६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।