स्वास्थ्य ऐनको प्रावधानका कारण देशभरका दुई हजार एम्बुलेन्स थन्किए

स्वास्थ्य ऐनको प्रावधानका कारण देशभरका दुई हजार एम्बुलेन्स थन्किए

चितवन : नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स सञ्चालन हुन नसकी थन्किएका छन्।

स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेक अन्य गैरसरकारी तथा निजी संघ-संस्थालाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्।

संयुक्त एम्बुलेन्स चालक संघ नेपालका ध्यक्ष नवराज लामिछानेका अनुसार ऐनको सोही प्रावधानका कारण अरू थप १५ सय एम्बुलेन्सको नवीकरण समेत रोकिने जोखिममा छ। देशभर रहेका करिब ६ हजार एम्बुलेन्समध्ये सरकारी तथा स्वास्थ्य संस्थाले चलाएका सञ्चालनमा रहे पनि गैरसरकारी र निजी क्षेत्रका एम्बुलेन्स भने पूर्ण रूपमा ठप्प भएका छन्।

ऐन आएदेखिनै निरन्तर रुपमा संशोधनका लागि सरकारी तवरमा पहल गर्ने काम भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिए। तत्कालीन स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई उक्त समस्याबारे अवगत गराएको अध्यक्ष लामिछाने बताए। नयाँ सरकार गठन भएपछि स्वास्थ्य मन्त्रीसमक्ष आफ्ना समस्या राख्ने तयारीमा आफूहरु रहेको उनको भनाइ छ।

एम्बुलेन्स सञ्चालन नहुँदा आम नागरिकले पाउनुपर्ने आपतकालीन सेवा प्रभावित हुनुका साथै सयौँ चालकहरूको रोजगारीसमेत गुमेको उनले बताए। 

साउन १०, २०८३ आइतबार १७:४३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।