क्यास्पियन सागरमा इरानी  जहाजमाथि आक्रमण, युक्रेनलाई जवाफी कारबाहीको चेतावनी

क्यास्पियन सागरमा इरानी  जहाजमाथि आक्रमण, युक्रेनलाई जवाफी कारबाहीको चेतावनी

एजेन्सी : क्यास्पियन सागरमा आफ्नो व्यापारिक जहाजमाथि आक्रमण गरेको भन्दै इरानले युक्रेनलाई कडा जवाफी कारबाहीको चेतावनी दिएको छ। शनिबार भएको उक्त आक्रमणमा परी एक जना नाविकको मृत्यु भएको र अर्का एक जना घाइते भएको इरानी अधिकारीहरूले जनाएका छन्।

रुस–युक्रेन द्वन्द्वको अन्तर्राष्ट्रिय प्रभाव तीव्र बन्दै जाँदा इरान र युक्रेनबिच प्रत्यक्ष तनाव बढेको हो। इरानको सरकारी समाचार संस्था 'इरना'का अनुसार इरानी विदेश मन्त्रालयले शनिबार बिहान भएको विस्फोटलाई 'शत्रुतापूर्ण र आपराधिक कार्य' भन्दै तेहरानस्थित युक्रेनी कार्यवाहक राजदूतलाई बोलाएर औपचारिक विरोध जनाएको छ।

इरानले रुस–युक्रेन युद्धमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै व्यापारिक जहाजमाथिको प्रहार अस्वीकार्य रहेको बताएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले युरोपेली सङ्घकी विदेश नीति प्रमुख काजा कालाससँग कुराकानी गर्दै यस घटनामा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् र इयूबाट कडा प्रतिक्रियाको माग गरेका छन्।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार सामाजिक सञ्जालमार्फत युक्रेनी सशस्त्र बलले क्यास्पियन सागरमा लामो दूरीको प्रहारमार्फत अत्यन्त सशक्त नतिजा हासिल गरेको बताएका थिए। उनका अनुसार आक्रमणमा इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाजका साथै एउटा युद्धपोतलाई लक्षित गरिएको थियो ।

युक्रेनको गुप्तचर निकाय (एसबीयू)ले टेलिग्राममार्फत इरान र रुसबीच सैन्य सामग्री ओसारपसारमा प्रयोग भएका तथा अन्तरराष्ट्रिय प्रतिबन्धमा परेका कार्गो जहाजलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको जनाएको छ।

साउन १०, २०८३ आइतबार १४:४४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।