नारायणी अस्पतालमा बिरामी मृत्यु प्रकरण : चिकित्सकको निलम्बन फिर्ता र छानबिन समिति खारेज नभए आकस्मिक सेवासमेत ठप्प पार्ने चेतावनी

नारायणी अस्पतालमा बिरामी मृत्यु प्रकरण : चिकित्सकको निलम्बन फिर्ता र छानबिन समिति खारेज नभए आकस्मिक सेवासमेत ठप्प पार्ने चेतावनी

वीरगन्ज : नेपाल चिकित्सक संघ नारायणी शाखाले नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सकसहित स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटनाका सम्बन्धमा आफ्ना माग पुरा नभए अस्पतालका आकस्मिकसहितका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार चेतावनी दिएको छ।

शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा आइतबार बसेको नारायणी शाखाको बैठकले आफ्ना मागहरू पूरा नभएसम्म नारायणी अस्पतालसहित सरकारी, निजी र मेडिकल कलेजहरूमा आकस्मिक सेवासहितका सबै सेवा ठप्प पार्ने निर्णय गरेको हो।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा शनिबार वीरगन्ज महानगरपालिका-२५ का ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि मृतकका आफन्तले उपचारमा लापरबाही भएको भन्दै अस्पतालमा तोडफोड गरेका थिए। स्थानीय प्रशासनको समन्वयमा नारायणी अस्पताल, पीडित परिवार, आफन्तजन र जनप्रतिनीधिबीच भएको वार्तामा उक्त घटनाको छानबिन गर्न छ सदस्यीय समिति गठन गरिएको छ। 

छानबिन समितिको प्रतिवेदन नआउन्जेलसम्मका लागि आकस्मिक कक्षमा उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई कामकाजमा रोक लगाइएको छ। सोही निर्णयको विरोधमा चिकित्सक संघले अस्पतालका आकस्मिक सेवासहितका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको हो। चिकित्सक संघले बिमारीको मृत्युबारे यथार्थ नबुझी अस्पतालमा तोडफोड गरिएको र मेडिकल अफिसर डा. प्रमोद राममाथि सांघातिक आक्रमण गरेको दाबी गरेको छ।

कुटपिट र तोडफोडमा संलग्नहरू माथि कानुन बमोजिम तत्काल मुद्दा दर्ता गरी कानुनी कारबाही गर्न संघको माग छ। घटनापश्चात् निलम्बनमा परेका चिकित्सकहरूको निलम्बन विनासर्त फिर्ता गरिनुपर्ने र हालको छानबिन समिति खारेज हुनुपर्ने उसको माग छ।

त्यसैगरी, स्वास्थ्य संस्थाको कार्यसम्पादनमा अनधिकृत हस्तक्षेप र अनावश्यक दबाब रोकी सुरक्षित कार्यस्थलको प्रत्याभूति र पेसागत सुरक्षाका लागि आवश्यक कदम चाल्न संघले माग गरेको छ। तर, नेपालको कानुनी र संवैधानिक व्यवस्था अनुसार आकस्मिक स्वास्थ्य सेवा वञ्चित गर्न पाइँदैन।

साउन १०, २०८३ आइतबार १४:०४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।