नारायणी अस्पतालमा बिरामीको मृत्युपछि तनाव : छानबिनका लागि ६ सदस्यीय समिति गठन
काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाको जाँचबुझ गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ।
स्थानीय प्रशासनको समन्वयमा नारायणी अस्पताल, पीडित परिवार, आफन्तजन र जनप्रतिनीधिबीच भएको वार्तामा छानबिन समिति गठन गर्ने सहमति भएको हो।
शनिबार वीरगन्ज महानगरपालिका-२५ का ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि मृतकका आफन्तले उपचारमा लापरबाही भएको भन्दै अस्पतालमा तोडफोड गरेका थिए। नेपाल चिकित्सक संघ नारायणी शाखाले अस्पतालमा कार्यरत चिकित्सकमाथि पनि सांघातिक आक्रमण भएको दाबी गरेको छ।
अक्सिजन लिइरहेका बिरामीलाई उपचारका लागि लैजाँदा अक्सिजन हटाएको र सोही कारणले मृत्यु भएको मृतकका आफन्तको आरोप छ। तर, चिकित्सक संघद्वारा जारी विज्ञप्तिमा भने बिरामीको आकस्मिक उपचारकै क्रममा कार्डिएक एरेष्ट भई निधन भएको उल्लेख छ।
घटनाको सत्य तथ्य अध्ययन गर्न गठित छानबिन समितिलाई प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको छ। समितिमा नारायणी अस्पतालका डा. निरज कुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगन्ज महानगरपालिका- २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी मृतकका आफन्त विकास पटेल र अस्पताल प्रशासन प्रतिनिधि सुनिलकुमार रोनियार रहेका छन्।
छानबिन समितिको प्रतिवेदन नआउन्जेलसम्मका लागि आकस्मिक कक्षमा उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई कामकाजमा रोक लगाइएको छ। जिम्मेवारीबाट हटाइएकाहरूमा डा. प्रमोद राम, डा. राम किशोर सिंह, प्रह्लाद प्रसाद, नरेश कुमार चौधरी र आस्था यादव रहेका छन्। छानबिन समितिको प्रतिवेदनअनुसार घटनाबारे थप कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।
तर, नेपाल चिकित्सक संघ नारायणी शाखाले भने बिमारीको मृत्युबारे यथार्थ नबुझी अस्पतालमा तोडफोड गरिएको र मेडिकल अफिसर डा. प्रमोद राममाथि सांघातिक आक्रमण गरेको दाबी गरेको छ। आक्रमणबाट घाइते डा. रामको हाल सोही अस्पतालको आइसियुमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ।
संघका अध्यक्ष डा. मनोज कुमार गुप्ता र सचिव डा. विकास साहद्वारा जारी विज्ञप्तिमा चिकित्सकमाथि कार्यस्थलमै ज्यान लिने उद्देश्यले गरिएको आक्रमणले समग्र स्वास्थ्यकर्मीको मनोबलमा चोट पुगेको उल्लेख गरिएको छ। कुटपिटमा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी कारबाही गरेर डा. रामको न्याय सुनिश्चित गर्न माग गरेको छ।
साथै तोडफोडबाट अस्पतालमा भएको भौतिक क्षति र घाइते स्वास्थ्यकर्मीको सम्पूर्ण उपचार खर्च दोषीहरूबाट असुलउपर गर्नुपर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले भयरहित वातावरणमा काम गर्ने सुनिश्चितता गर्न माग गरेको छ। संघले आफ्ना मागलाई बेवास्ता गरिए वा दोषीलाई उन्मुक्ति दिने प्रयास भए देशभर सशक्त आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएको छ।
साउन १०, २०८३ आइतबार ११:०२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।