बर्लिन प्राइड परेडमा भीडमाथि गाडी गुडाउँदा एकको मृत्यु, १७ जना घाइते

बर्लिन प्राइड परेडमा भीडमाथि गाडी गुडाउँदा एकको मृत्यु, १७ जना घाइते

काठमाडौं : जर्मनीको राजधानी बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रममा शनिबार राति एउटा अनियन्त्रित गाडी भीडमा पस्दा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटना टियरगार्टेन पार्क नजिकै राति करिब १०:१५ बजे भएको हो। ब्रान्डेनबर्ग गेट क्षेत्रमा सांगीतिक कार्यक्रम चलिरहेका बेला एउटा सेतो गाडी मानिसहरूको भीडमा छिरेर ठक्कर दिएको थियो। दुर्घटनालगत्तै परेड स्थगित गरिएको छ।

घटनापछि चालक फरार भएका छन् भने घटनास्थलमा क्षतिग्रस्त अवस्थामा एउटा सेतो गाडी फेला परेपछि प्रहरीले चालकको व्यापक खोजी सुरु गरेको छ।

बर्लिन प्रहरीका प्रवक्ता फ्लोरियन नाथका अनुसार  प्रारम्भिक अनुसन्धान भइरहेको र यो नियोजित आक्रमण हो वा केवल दुर्घटना हो भन्नेबारे अझै पुष्टि हुन बाँकी छ।

घटनापछि ठूलो संख्यामा प्रहरी र उद्धार टोली परिचालन गरिएको छ। घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बर्लिन प्रहरीले घाइतेमध्ये केहीको अवस्था गम्भीर  रहेको जनाएको छ। पीडितका आफन्तका लागि छुट्टै सूचना केन्द्र पनि स्थापना गरिएको छ। घटनास्थलको निरीक्षणपछि बर्लिनका मेयर काइ वेग्नरले घटनाको कडा निन्दा गर्दै यसलाई बर्लिनको स्वतन्त्र, खुला र सहिष्णु समाजमाथिको आक्रमण भएको बताएका छन्। साथै, घटनाको निष्पक्ष र तीव्र अनुसन्धान हुने आश्वासन पनि दिएका छन्।

शनिबार बर्लिनमा सहिष्णुता र विविधताको समर्थनमा आयोजित यस प्राइड कार्यक्रममा लाखौँ मानिसको सहभागिता रहेको थियो। हाल प्रहरीले उद्धार कार्यलाई सहज बनाउन सर्वसाधारणलाई टियरगार्टेन क्षेत्रबाट टाढा रहन र घर फर्किन आग्रह गरेको छ।

साउन १०, २०८३ आइतबार १०:३२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।