अनसनरत डा. केसीका माग सम्बोधन गरी जीवन रक्षा गर्न चिकित्सक संघको माग

अनसनरत डा. केसीका माग सम्बोधन गरी जीवन रक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं : नेपाल चिकित्सक संघले धनगढीमा आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै उनको जीवन रक्षाका लागि सरकारसँग आग्रह गरेको छ।

संघले शनिबार एक प्रेस विज्ञप्ति जारी गरेर चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय)मा उपकुलपति र रजिस्टार नियुक्ति गैरकानुनी भएको भन्दै २४औँ पटक अनसन सुरु गरेका डा. केसीका मागहरूलाई संवेदनशीलताका साथ सम्बोधन गर्न माग गरेको हो।

धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ। अनसनका कारण डा. केसीको स्वास्थ्यमा समस्याहरू देखिन थालेको उनले उठाएका मागहरूको सम्बोधन गरी जीवन रक्षा गर्न संघले आग्रह गरेको छ। 

विज्ञप्तिमा भनिएको छ, "उहाँको उमेर, हालसालै सम्पन्न गरिएको शल्यक्रियाबाट स्वास्थ्य लाभमा रहनुभएको स्थिति लगायतलाई मध्यनजर गरी उहाँको जीवन रक्षाका लागि उहाँले उठाउनुभएका जायज मागहरूलाई हदैसम्मको संवेदनशीलताका साथ उपयुक्त समाधानका लागि पहल गर्न संघ नेपाल सरकार र सरोकारवालाहरूलाई आग्रह गर्दछ।"

यता सरकारले अनसनरत डा केसीसँग वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले शनिबार नै शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल धनगढी पठाएको छ। सरकारले संवाद र सहमतिका माध्यमबाट डा केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्न प्रतिबद्ध रहेको जनाएको थियो।

साउन १०, २०८३ आइतबार ०८:०२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।