विद्यार्थी आन्दोलन चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा, सीजेपी संस्थापक दिप्केले भने- 'हाम्रो जित'
एजेन्सी : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले नीट परीक्षाको प्रश्न पत्र चुहावटलाई लिएर विरोध प्रदर्शन चर्किएपछि पदबाट राजीनामा दिएका छन्।
करिब एक महिनादेखि नयाँ दिल्लीको जन्तर-मन्तरमा भइरहेको प्रदर्शन र विपक्षी दलहरूको दबाबपछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो राजीनामा बुझाएका हुन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रधानले देशको वर्तमान परिस्थितिको अनुचित लाभ राष्ट्र विरोधी शक्तिहरूले नउठाउन् र राष्ट्रिय एकता कायम रहोस् भन्ने उद्देश्यले आफूले पद त्याग्ने निर्णय लिएको बताएका छन्।
उनले भारतका कुनै पनि विद्यार्थीको भविष्य कानुनी उल्झनमा नफसोस् र उनीहरूले आफ्नो समय एवं ध्यान अध्ययन र करियर निर्माणमा केन्द्रित गर्न सकुन् भन्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गरेका छन्।
प्रधानले नीट प्रकरणको नैतिक जिम्मेवारी आफूले सुरुदेखि नै लिएको स्पष्ट पारेका छन्। "कुनै पनि जेहेन्दार विद्यार्थीको परीक्षा माफियाका कारण बिग्रन नदिने र कुनै पनि विद्यार्थीमाथि अन्याय हुन नदिने मेरो संकल्प थियो," उनले भनेका छन्।
यद्यपि, उनले यसबीच विद्यार्थीहरूलाई भ्रमित पार्न जिम्मेवार पदमा बसेका व्यक्तिहरूले बाधा पुर्याउने प्रयास गरेको आरोप लगाएका छन्।
यता जन्तर-मन्तरमा प्रदर्शन गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दिप्केले प्रधानको राजीनामालाई अभियानको सफलताका रूपमा उल्लेख गरेका छन्।
साउन ९, २०८३ शनिबार १५:१८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।