'यदि तनावका कारण मेरो मृत्यु भयो भने...': अस्पतालमा सोनम वाङचुक र प्रहरीबीच भनाभन, भिडियो भाइरल भएपछि प्रशासनले दियो स्पष्टीकरण
एजेन्सी : शिक्षाविद् तथा वातावरण अभियन्ता सोनम वाङ्चुक र सुरक्षाकर्मीबीच सफदरजंग अस्पतालमा भएको भनाभनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यस घटनाबारे प्रशासनले भने, वाङ्चुकले मेदान्ता अस्पताल जान खोज्दा उक्त अवस्था सिर्जना भएको स्पष्ट पारेको छ।
उक्त भिडियो वाङचुक आफैँले शुक्रबार राति आफ्नो युट्युब र सामाजिक सञ्जाल खाताहरूबाट सार्वजनिक गरेको लामो भिडियोको एक अंश हो। २६ दिन लामो अनसनपछि पनि आफूले आफ्नो इमानदारी प्रमाणित गर्नुपर्ने हो भन्दै उनले प्रश्न गरेका छन्।
भाइरल भिडियोमा वाङचुकले सुरक्षाकर्मीहरूमाथि अनसनको समयमा दुःख दिएको र सताएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन्। उनले भनेका छन्,"उनीहरूलाई मलाई गिरफ्तार गर्न भन, मलाई गिरफ्तार गर! मेरो अनसनको २० औँ दिनमा मलाई तीन घण्टासम्म किन यसरी दुःख दिइरहेका छन्?"
भिडियोमा उनले थप अगाडि भनेका छन्, "तपाईंहरू सबैले मलाई दुःख दिइरहनुभएको छ। यदि तनावका कारण मेरो मृत्यु भयो भने, त्यसको जिम्मेवारी तपाईंहरूकै हुनेछ।"
त्यसपछि आफूलाई बाहिर निस्कन दिन आग्रह गर्दै उनले भनेका छन्, "कृपया ढोका खोल्नुहोस्, म जान्छु। मलाई पक्राउ गर्नुहोस्। किन जबरजस्ती गर्दै हुनुहुन्छ? यो त यातना हो। यदि पक्राउ गर्न चाहनुहुन्छ भने अहिले नै पक्राउ गर्नुहोस्। बुझ्नुभयो? जहाँ रोक्न चाहनुहुन्छ रोक्नुहोस्, तर देशले थाहा पाओस् कि तपाईंहरूले कसरी रोक्नुभयो।"
विवाद बढ्दै गएपछि वाङचुक अस्पतालकै भुइँमा ढलेर विरोध जनाएको दृश्य भिडियोमा देखिन्छ। उनका समर्थकहरूले घटनाको भिडियो रेकर्ड गरिरहँदा उनले भनेका छन्, "तस्बिरहरू खिच्नुहोस्, हेरौँ कसले फोन खोस्दो रहेछ!" सोही क्रममा उनको टोलीका एक सदस्यले भिडियो बनाइरहँदा कसैले फोन खोस्न खोजेको देखिन्छ।
उक्त घटनाक्रममा वाङचुककी पत्नी गीताञ्जली आङ्मो पनि निकै आक्रोशित देखिएकी छन्।
भुइँमा सुतेकै अवस्थामा वाङ्चुकले अदालतको आदेशबारे पुनः जोड दिँदै भने,"यो डिजिटल रूपमा जताततै छ। तपाईंहरू बाहेक सारा संसारलाई यसको जानकारी छ। संसारलाई थाहा छ।"
पछि उनले फेरि दोहोर्याउँदै भने, "यो जताततै छ। संसारलाई थाहा छ, तपाईंहरूलाई बाहेक।"
साउन ९, २०८३ शनिबार १३:०७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।