रक्षामन्त्री हटाउने निर्णयले संकटमा जेलेन्स्की, कीभका सडकमा चर्कियो प्रदर्शन

रक्षामन्त्री हटाउने निर्णयले संकटमा जेलेन्स्की, कीभका सडकमा चर्कियो प्रदर्शन

एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षा मन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाउने निर्णय गरेपछि सुरु भएको राजनीतिक विवाद झन् जटिल बन्दै गएको छ। 

नयाँ कार्यवाहक रक्षा मन्त्री र सेनाको नयाँ नेतृत्व नियुक्त गरिए पनि राजनीतिक असन्तुष्टि भने अझै साम्य हुन सकेको छैन।

गत जुलाई १५ मा मन्त्रिपरिषद् पुनर्गठनका क्रममा जेलेन्स्कीले लोकप्रिय रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाएका थिए। यस निर्णयको विरोधमा राजधानी कीभ र अन्य शहरहरूमा युवा समर्थकहरूले निरन्तर प्रदर्शन जारी राखेका छन्। उनीहरूले फेडोरोभलाई पुनः रक्षा मन्त्रीमा नियुक्त गर्न माग गरिरहेका छन्।

सङ्कट समाधानका लागि जेलेन्स्कीले फेडोरोभलाई अन्य वैकल्पिक सरकारी पदहरूको प्रस्ताव गरे पनि उनले त्यसलाई अस्वीकार गरिदिएका छन्। फेडोरोभले आफ्नो लागि रक्षा मन्त्री, सेना प्रमुख वा राष्ट्रपति पद मात्र प्रभावकारी हुने बताएका छन्। उनको यो अभिव्यक्तिलाई भविष्यमा राष्ट्रपतिको सम्भावित दाबेदार बन्ने सङ्केतका रूपमा हेरिएको छ। 

"उहाँलाई पदबाट हटाइएकै क्षणदेखि उहाँ राष्ट्रपतिको सशक्त उम्मेदवार बन्नुभयो," एक पूर्व रक्षा अधिकारीले भने।

फेडोरोभलाई युक्रेनको आधुनिक सैन्य प्रविधि र ड्रोन नवप्रवर्तनको मुख्य सूत्रधार मानिन्छ।

विश्लेषकहरूका अनुसार जेलेन्स्कीले फेडोरोभको बढ्दो प्रभाव घटाउन उनलाई हटाएका थिए, तर यस निर्णयले फेडोरोभको लोकप्रियता झनै बढाएको छ। जेलेन्स्कीका समर्थक तथा आफ्नै दल 'सर्भेन्ट अफ द पिपुल'का सांसद्हरू पनि फेडोरोभको राजनीतिक महत्त्वाकाङ्क्षा नै पदमुक्तिको मुख्य कारण भएको बताउँछन्।

"रोबर्ट ग्रिनको चर्चित पुस्तक 'द ४८ लज अफ पावर' को पहिलो नियम छ-'आफ्नो मालिकभन्दा बढी नचम्किनू' फेडोरोभको हकमा यही लागू भएको देखिन्छ," सांसद् ओलेक्सान्डर मेरेझकोले टिप्पणी गरे।​​​​​​​

​​​​​​​यसैबीच, बढ्दो असन्तोष र अलोकप्रिय बनेका सैन्य प्रमुख ओलेक्सान्डर सिर्स्कीलाई हटाएर जेलेन्स्कीले ४३ वर्षीय मेजर जनरल मिखाइलो द्रापातीलाई नयाँ कम्यान्डर-इन-चिफ नियुक्त गरेका छन्। नयाँ सेनाप्रमुख द्रापातीको नियुक्तिलाई अधिकांश सैन्य तथा राजनीतिक वृत्तले सकारात्मक रूपमा लिएका छन्। उनलाई युद्ध अनुभव सम्पन्न, आधुनिक सोच भएका र सक्षम कमाण्डरका रूपमा हेरिएको छ। यद्यपि यस नियुक्तिले मात्र राजनीतिक विवाद पूर्ण रूपमा समाधान गर्न नसकेको टिप्पणी गरिएको छ।

राजनीतिक तनावका बाबजुद विज्ञहरूले युक्रेनको युद्धक्षमतामा तत्काल ठूलो असर नपर्ने विश्वास गरेका छन्। रुसविरुद्धको आर्थिक दबाब र लामो मोर्चामा ड्रोन प्रविधिको व्यापक प्रयोगका कारण युक्रेनी रक्षा प्रणाली अझै प्रभावकारी रहेको उनीहरूको भनाइ छ।

​​​​​​​युक्रेन अहिले आगामी जाडोयाममा रुसबाट हुन सक्ने ऊर्जा पूर्वाधारमाथिको आक्रमणको सम्भावित चुनौती सामना गर्ने तयारीमा रहेको छ। यसबीच राष्ट्रपति जेलेन्स्कीले राष्ट्रिय एकता कायम राख्दै देशको सुरक्षा र ऊर्जा प्रणालीलाई मजबुत बनाउन सरकार केन्द्रित रहेको बताएका छन्।

साउन ९, २०८३ शनिबार १०:५२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।