‘मोदी जी! मेट्रो, इन्टरनेट, बाटो र खाना त बन्द गर्नुभो तर एक चिज अझै बन्द गर्न सक्नुभएन’
एजेन्सी : भारतीय कंग्रेसका नेता एवं संसदका विपक्षी दलका नेता राहुल गान्धीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति तिखो व्यङ्ग्य गरेका छन्।
विद्यार्थीको प्रदर्शन दबाउन सरकारले सबै चिज बन्द गरे पनि ‘पेपर लिक’ बन्द गर्न नसकेको भन्दै उनले आलोचना गरेका हुन्।
नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा विद्यार्थीहरूले गरिरहेको विरोध प्रदर्शनलाई लक्षित गर्दै शनिबार बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै गान्धीले सरकारको कदमलाई 'क्रूर' भनेका छन्।
उनले लेखेका छन्, ‘मेट्रो बन्द गर्यौ। बाटो बन्द गर्यौ। पसल बन्द गर्यौ। इन्टरनेट बन्द गर्यौ। खाना बन्द गर्यौ। आफ्नो हक मागिरहेका विद्यार्थीविरुद्ध सरकारले यी क्रूर कदमहरू उठायो। तर एउटा चिज भने बन्द गर्न सक्नुभएन मोदीजी- पेपर लिक।’
विद्यार्थीको प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली मेट्रो रेल कर्पोरेसनले शनिबार बिहान ७:३० बजेदेखि अर्को सूचना नआएसम्मका लागि १८ वटा प्रमुख मेट्रो स्टेसन बन्द गरेको छ।
साथै, प्रदर्शनकारी र उनीहरूका समर्थकहरूले धरनास्थल जन्तर-मन्तर आसपासको क्षेत्रमा इन्टरनेट सेवासमेत जानाजान अवरुद्ध गरिएको छ।
साउन ९, २०८३ शनिबार १०:५१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।