पाकिस्तानको सैनिक चौकीमा आत्मघाती हमला : १२ सैनिकसहित १५ को मृत्यु, १२ चरमपन्थी पनि मारिए
एजेन्सी : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित टांक जिल्लामा रहेको सेना र प्रहरीको संयुक्त चौकीमा चरमपन्थीहरूले गरेको भीषण हमलामा १२ जना सैनिकसहित १५ जनाको मृत्यु भएको छ।
बिहीबार राति ‘मांझी खेल’ नामक सुरक्षा चौकीमा भएको उक्त घटनामा दुई जना प्रहरी र वन विभागका एक अधिकारीले पनि ज्यान गुमाएका छन्। सुरक्षा बलले गरेको जवाबी कारबाहीमा १२ जना चरमपन्थी समेत मारिएका छन्।
पाकिस्तानी सेनाको मिडिया विंग ‘इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स’ (आईएसपीआर) का अनुसार, चरमपन्थीहरूले सुरुमा चौकीको सुरक्षा घेरा तोडेर भित्र प्रवेश गर्ने प्रयास गरेका थिए। सुरक्षा बलले उनीहरूको त्यो प्रयास विफल पारिदिएको थियो।
सुरुवाती प्रयास असफल भएपछि आतंककारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा गाडी चौकीको पर्खालमा लगेर ठोक्काएका थिए। बीबीसीका स्थानीय संवाददाताका अनुसार उक्त भीषण आत्मघाती विस्फोटका कारण 'मांझी खेल' चौकी पूर्ण रूपमा ध्वस्त भएको छ।
विस्फोटपछि भाग्दै गरेका चरमपन्थीहरूलाई सुरक्षाकर्मीले लखेटेर कारबाही गरेको थियो। उक्त जवाबी कारबाहीमा १२ जना आतंककारी मारिएको आईएसपीआरले पुष्टि गरेको छ। हमलामा घाइते भएका सुरक्षाकर्मीहरूलाई तत्काल उद्धार गरी नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ।
यस घटनापछि टांक जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय प्रशासनले जिल्लाभर निषेधाज्ञा (धारा १४४) लागू गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको छ। हाल उक्त क्षेत्रमा सेनाले व्यापक तलासी अभियान (सर्च अपरेसन) जारी राखेको छ।
साउन ९, २०८३ शनिबार ०९:४७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।