फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

एजेन्सी : फ्रान्सले १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले सांसदहरूले उक्त प्रस्तावको पक्षमा मतदान गरेको पुष्टि गरे।

सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति म्याक्रोनले विधेयकको समर्थन गर्ने सांसदहरूलाई धन्यवाद दिँदै यो निर्णय छिट्टै कार्यान्वयनमा ल्याइने बताए।

संवैधानिक परिषद्को अन्तिम स्वीकृतिपछि लागू हुने यो नियमबारे उल्लेख गर्दै उनले आफ्ना बालबालिकालाई अनलाइन जगत्‌का असुरक्षा र जोखिमबाट जोगाउन अभिभावकहरूलाई आग्रहसमेत गरे।

सीएनएनका अनुसार, यो कानुन लागू भएसँगै बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्ने फ्रान्स युरोपेली सङ्घ (ईयू) को पहिलो देश बन्नेछ।

बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालले पार्ने नकारात्मक असर रोक्न पछिल्लो समय विश्वभर यस्ता कदम चाल्ने क्रम बढेको छ।

यसअघि गत जुनमा बेलायतले पनि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

बेलायतले पनि सामाजिक सञ्जालका कारण बालबालिका खेलकुद, पर्याप्त निद्रा र परिवारसँगको समयबाट बञ्चित भई मानसिक स्वास्थ्यमा गम्भीर असर परेको बताए।

त्यस्तै, अस्ट्रेलियाले गत वर्ष नै १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाइसकेको छ।

जापानले पनि कम उमेरका प्रयोगकर्ताको सुरक्षाका लागि कडा उमेर प्रमाणीकरण गर्न र प्राविधिक कम्पनीहरूको जवाफदेहिता बढाउन आह्वान गरेको छ।

स्पेन र डेनमार्क लगायतका देशहरूले पनि बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेका छन्।

साउन ८, २०८३ शुक्रबार १४:१०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।