अदालतको आदेशपछि इन्डोनेसियाबाट सिंगापुर पुर्याइएका बच्चाहरूको के हुन्छ?
एजेन्सी : इन्डोनेसियाको एउटा अदालतले शिशु बेचबिखन गरेको आरोपमा १९ जनालाई दोषी ठहर गरेसँगै धर्मपुत्र/धर्मपुत्रीका रूपमा सिंगापुर पुर्याइएका ती बच्चाहरूको अब के हुन्छ? उनीहरूलाई इन्डोनेसिया नै फर्काइन्छ वा सिंगापुरमै बस्न दिइन्छ? भन्ने प्रश्न उठेको छ।
इन्डोनेसियाको वेस्ट जाभास्थित अदालतले ३४ जना शिशुहरूलाई जम्मा गरेर बेचेको आरोपमा उक्त गिरोहलाई दोषी ठहर्याएको हो। तीमध्ये कम्तीमा १२ जना शिशुलाई धर्मपुत्र/धर्मपुत्री बनाउनका लागि सिंगापुर पुर्याइसकिएको थियो।
गिरोहले जन्मदर्ता लगायतका कागजातमा नक्कली आमाबुबाको नाम राखेर बच्चाहरू बेचेको अदालतमा पुष्टि भएको छ।
सिंगापुरमा ती शिशुहरूलाई धर्मपुत्र/धर्मपुत्री बनाएर हुर्काइरहेका अभिभावकहरू अहिले निकै चिन्तामा छन्। करिब एक वर्षदेखि उनीहरू आफ्नो बच्चा आफूसँगै राख्न पाइन्छ कि पाइँदैन भन्ने त्रासमा बाँचिरहेका छन्।
डेभिड नामका एक अभिभावकले आफूहरूले बच्चा पाल्दा बेचबिखनको बारेमा केही थाहा नपाएको र सिंगापुर सरकारको सबै कानुनी प्रक्रिया पूरा गरेको बताएका छन्।
उनले भनेका छन्, ‘बच्चा र हाम्रो परिवार दुवै यो घटनाको सिकार भएका छौँ। दुवै देशका सरकारले बच्चाको भलाइलाई हेरेर छिट्टै एउटा निर्णय गरोस् भन्ने हाम्रो चाहना छ।’
इन्डोनेसियाको भनाइ के छ ?
इन्डोनेसियाका बालअधिकारकर्मीहरूले बेचिएका बच्चाहरूलाई उनीहरूको जन्मदिने आमाबुबाकै जिम्मा लगाउनुपर्ने तर्क गरेका छन्।
बाल संरक्षण आयोगकी अधिकारी आइ मार्यन्तीका अनुसार नक्कली कागजातको आधारमा सिंगापुरले धर्मपुत्र बनाए पनि बेचिएका बच्चाहरू आफ्नै देशमा फर्काइनुपर्छ।
यता, इन्डोनेसियाको विदेश मन्त्रालयले भने बच्चाको कानुनी अवस्था, उनीहरूको वास्तविक आमाबुबाको पहिचान र सिंगापुरमा चलिरहेको प्रक्रियाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
बच्चा फर्काउन किन गाह्रो छ ?
कानुन व्यवसायीहरूका अनुसार यी बच्चाहरूलाई इन्डोनेसिया फर्काउन निकै जटिल छ। सिंगापुरको कानुनमा कडा जाँचपछि एक पटक धर्मपुत्र/धर्मपुत्री बनाउने आदेश दिइसकेपछि त्यसलाई रद्द गर्ने चलन लगभग छैन।
शिशु अवस्थादेखि नै हुर्काएका आमाबुबाबाट छुट्याउँदा बच्चाको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। अहिले कतिपय बच्चाहरू ३ वर्षको भइसकेका छन्, जसले सिंगापुर बाहेक अरू केही जानेका छैनन्।
त्यसैगरी गिरोहले नक्कली कागजात बनाएको हुनाले धेरै बच्चाहरूको वास्तविक आमाबुबा को हुन् भन्ने अझै खुलेको छैन। यदि उनीहरूलाई इन्डोनेसिया फर्काइयो भने उनीहरू अनाथालयमा बस्नुपर्ने अवस्था आउन सक्छ।
विज्ञहरू के भन्छन् ?
इन्डोनेसियाकी अपराधशास्त्री नि माडे मार्टिनी पुतेरीका अनुसार वास्तविक आमाबुबा पत्ता लागेनन् र बच्चाले सिंगापुरबाहेक अर्को संसार देखेको छैन भने, उसलाई त्यहीँका अभिभावकसँगै छाड्नु नै सबैभन्दा उपयुक्त हुन्छ।
उनी भन्छिन्, ‘सिंगापुरले यी बच्चाहरूलाई बेचबिखनका पीडित मानेर संरक्षण दिनुपर्छ र अञ्जानमै फसेका धर्मपुत्र बनाउने अभिभावकलाई पनि सुरक्षा दिनुपर्छ।’
हालसम्म दुवै देशका अधिकारीहरूले यी बच्चाहरूको भविष्यको बारेमा कुनै अन्तिम निर्णय भने गरिसकेका छैनन्।
साउन ८, २०८३ शुक्रबार ०७:३२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।