डा. गोविन्द केसीले धनगढीमा थाले २४औँ सत्याग्रह, के-के छन् माग ?
काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि कैलालीको धनगढीमा २४ औँ सत्याग्रह सुरु गरेका छन्। यसअघि सरकारलाई आफ्ना माग पूरा गर्न दिएको समयसीमासम्म कुनै सुनुवाइ नभएको भन्दै उनले दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनसन थालेका हुन्।
सत्याग्रह सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएका बेथितिबारे चर्चा गर्दै आपत्ति जनाए। गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका नियुक्तिहरूमा उनले प्रश्न उठाए।
डा. केसीले भने, "यदि राज्यलाई मेडिकल विश्वविद्यालय नै चाहिएको भए दशकौंदेखि विशिष्ट सेवा दिँदै आएका त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिना अतिरिक्त लगानी विश्वविद्यालय बनाउन सकिन्थ्यो।"
उनले अगाडि थपे, "तर, स्थापित संस्थालाई पन्छाएर गेटामा नयाँ संरचना थप्नु र ऐनमा विवादित प्रावधान राखेर अमुक निजी संस्थाका व्यक्ति लक्षित उपकुलपति तथा रजिस्ट्रार नियुक्त गरिनुले यसको पछाडि विशुद्ध व्यापारिक र राजनीतिक स्वार्थ लुकेको घाम जत्तिकै छर्लङ्ग पारिसकेको छ।"
डा. केसीले अघि सारेका ५ बुँदे मागहरूमा दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा गरिएका नियुक्तिहरू तत्काल बदर गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड नपुगेका निजी कलेजहरूमा सिट वृद्धि गर्ने प्रस्ताव खारेज गर्नुपर्ने माग उल्लेख गरेका छन्।
त्यस्तै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधानको कार्यान्वयन, सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रमा स्वास्थ्य र शिक्षाका पूर्वाधार विस्तार र २०४६ सालयताका उच्च पदस्थ राजनीतिज्ञ एवं पदाधिकारीहरूमाथि भ्रष्टाचारको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने माग गरेका छन्।
यसअघि गेटामा विश्वविद्यालय सञ्चालनको तयारी भइरहेका बेला सत्याग्रह गर्दा प्रक्रिया प्रभावित हुन सक्ने भन्दै स्थानीय नागरिक अगुवा र केही सङ्गठनहरूले उनलाई आन्दोलन रोक्न आग्रह गरेका थिए। तर, डा. केसीले सरकारको संवेदनहीनताका कारण सिर्जना हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुने चेतावनी दिँदै सत्याग्रह सुरु गरेका छन्।
साउन ७, २०८३ बिहीबार २०:३२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।