अमेरिका र साउदी अरबबीच ऐतिहासिक परमाणु सम्झौता
एजेन्सी : अमेरिका र साउदी अरबबीच एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै खाडी राष्ट्र साउदी अरबले आफ्नो नागरिक परमाणु ऊर्जा कार्यक्रम विकास गर्न सक्नेछ।
अमेरिकी ऊर्जा विभागका अनुसार यो एक ‘शान्तिपूर्ण परमाणु सहयोग सम्झौता’ हो। यसअन्तर्गत अमेरिकी कम्पनीहरूले साउदी अरबको परमाणु ऊर्जा कार्यक्रममा बृहत् रूपमा काम गर्ने अवसर पाउनेछन्।
सम्झौताको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन। यद्यपि, अमेरिकी सञ्चारमाध्यमका अनुसार भविष्यमा यसै सम्झौताअन्तर्गत साउदी अरबले युरेनियम संवर्द्धनको अनुमति पाउन सक्छ।
संवर्द्धित युरेनियमलाई परमाणु पावर सेन्टरहरूमा इन्धनका रूपमा प्रयोग गरिन्छ। तर, यही प्रविधिको प्रयोग गरेर परमाणु बम पनि बनाउन सकिन्छ।
विशेषज्ञहरूका अनुसार, यदि साउदी अरबले युरेनियम संवर्द्धनको अनुमति पाएमा अमेरिकाका तर्फबाट यस्तो छुट दिइएको यो पहिलो पटक हुनेछ।
यसले पहिल्यैदेखि अस्थिर रहेको पश्चिम एसिया (मध्यपूर्व) मा परमाणु हतियार विस्तारको खतरा अझ बढाउन सक्ने चिन्ता व्यक्त गरिएको छ।
अमेरिकी ऊर्जा विभागले परमाणु सहयोग सम्झौतासँगै दुई देशबीच द्विपक्षीय सुरक्षा निगरानी सम्झौता (बाइलेटरल सेफगार्ड्स एग्रिमेन्ट) मा पनि हस्ताक्षर भएको जनाएको छ।
साउन ७, २०८३ बिहीबार ०९:१७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।