कार्यालयमा हाफप्यान्ट लगाउन टोकियोको प्रोत्साहन, महिलाहरूले भने– 'खुट्टाको रौं देखाएर दुर्व्यवहार गरियो'

कार्यालयमा हाफप्यान्ट लगाउन टोकियोको प्रोत्साहन, महिलाहरूले भने– 'खुट्टाको रौं देखाएर दुर्व्यवहार गरियो'

एजेन्सी : जापानको राजधानी टोकियोमा गर्मी बढेसँगै पुरुष कर्मचारीलाई कार्यालयमा सुट र टाइको सट्टा टि-सर्ट, स्नेकर्स र हाफप्यान्ट लगाएर काममा आउन प्रोत्साहन गरिएपछि यसले नयाँ बहस सिर्जना गरेको छ। केहीले यसलाई सहज र व्यवहारिक कदम भनेका छन् भने केही महिलाले पुरुष सहकर्मीको खुट्टाको रौं देख्नुपर्दा असहज भएको गुनासो गरेका छन्।

केही महिलाहरूले पुरुष सहकर्मीको खुट्टाको रौंका कारण असहजता महसुस भएको भन्दै यसलाई 'सुनेहारा' अर्थात् 'गोडाको रौं सम्बन्धित दुर्व्यवहार/ह्यारेसमेन्ट' को संज्ञा दिएका छन्।

टोकियो महानगरपालिकाले अप्रिलदेखि ‘टोकियो कूल बिज’ अभियान अन्तर्गत कर्मचारीलाई औपचारिक सुट–टाइको सट्टा टी–सर्ट, स्पोर्ट्स जुत्ता र सर्ट्स लगाएर कार्यालय आउन प्रोत्साहित गरिरहेको छ। टोकियोकी गभर्नर युरिको कोइकेले अत्यधिक गर्मीमा कर्मचारीलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यो अभियान अघि बढाएकी हुन्।

तर, कार्यालयमा सर्ट्स लगाउने अभ्यासले सामाजिक सञ्जालदेखि कार्यस्थलसम्म लैङ्गिक समानताको बहस चर्काएको छ। परम्परागत जापानी कर्पोरेट संस्कृतिमा महिलाले खुट्टा देखिने पोशाक लगाउँदा अझै पनि टाइट्स लगाउनुपर्ने बाध्यता छ, जबकि पुरुषहरूलाई भने हाफप्यान्टमा आउन छुट दिइएको छ। यस्तो अभ्यासलाई केही महिलाले असमान व्यवहारका रूपमा व्याख्या गरेका छन्।

महिलाहरूले पुरुष सहकर्मीहरूको नांगो खुट्टाको रौं दिनहुँ देख्नुपर्दा असहज महसुस भएको अनलाइनमार्फत व्यक्त गरेपछि जापानी भाषामा 'सुनेहारा' अर्थात् ‘खुट्टाको रौं देखाएर हुने दुर्व्यवहार’ भन्ने शब्द ट्रेन्डिङमा आएको हो। केही महिलाले पुरुष सहकर्मीको बाक्लो खुट्टाको रौं देख्दा असहज महसुस हुने प्रतिक्रिया दिएका छन्।

टोकियो महानगर सरकारका वातावरण अधिकारी नोबोरु वातानाबेले भने अभियानको उद्देश्य कसैलाई निश्चित पोशाक लगाउन बाध्य पार्नु नभई गर्मीमा सहज विकल्प उपलब्ध गराउनु रहेको बताएको बीबीसीले उल्लेख गरेको छ। उनका अनुसार, अरूलाई अपमानजनक नलाग्ने पोशाक लगाइएमा कुनै समस्या नहुने सरकारको धारणा छ।

जुन महिनामा गरिएको एक सर्वेक्षणअनुसार ५३.५ प्रतिशत उत्तरदाताले गर्मीमा कार्यालयमा सर्ट्स लगाउने अभ्यासको विरोध गरेका छन् भने ४६.५ प्रतिशतले समर्थन जनाएका छन्। विपक्षमा मत दिनेहरूमा अधिकांशले शरीरको बनावट र खुट्टाको रौं देखिने विषयलाई मुख्य कारण बताएका छन्। सर्वेक्षणमा महिलाको सहभागिता पुरुषभन्दा बढी रहेको थियो।

यसैबीच, महिला सहकर्मीहरूलाई असहज नहोस् भन्नका लागि केही पुरुष  कर्मचारीले 'लेजर हेयर रिमुभल' (रौं हटाउने उपचार) गराउन थालेको एक क्लिनिकका निर्देशक अकिफुमी फुनात्सुले जानकारी दिएका छन्। उनका अनुसार पुरुषहरूले यसलाई सामाजिक शिष्टाचारका रूपमा लिन थालेका छन्।

जापानमा पछिल्ला महिनाहरूमा अत्यधिक गर्मी भइरहेको छ। मौसमविद्हरूले यस वर्ष तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने चेतावनी दिएका छन्। जुलाई ६ देखि १२ सम्मको एक सातामा मात्रै हिटस्ट्रोकका कारण सात जनाको मृत्यु भएको तथा ४ हजार ५८० जना अस्पताल भर्ना भएको जापानको अग्नि तथा विपद् व्यवस्थापन निकायले जनाएको छ।

गर्मीबाट बच्न सरकारले पर्याप्त पानी पिउन, एयर कन्डिसनर प्रयोग गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरिरहेको छ। साथै, बजारमा साना पङ्खा जडित लुगा, यूभी प्रतिरोधी छाता, हातमा बोक्न मिल्ने पङ्खा र चिसो बनाउने विभिन्न सामग्रीको प्रयोग पनि बढ्दो क्रममा रहेको छ।

साउन ६, २०८३ बुधबार १५:०७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।