दिल्लीमा २० थप सीआरपीएफ कम्पनीहरू तैनाथ, सोनम वाङचुकलाई भेट्न पुगे मन्त्रीहरू
नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीमा ‘संसद मार्च’पछि सुरु भएको राजनीतिक तथा विद्यार्थी आन्दोलन तीव्र बनेको छ।
एकतर्फ सरकार र आन्दोलनकारी पक्षबीच वार्ताको प्रयास भइरहेको छ भने अर्कोतर्फ विपक्षी दलहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शन जारी राखेका छन्। बिग्रँदो स्थितिलाई ध्यानमा राख्दै सरकारले दिल्लीको सुरक्षा व्यवस्था थप कडा बनाएको छ।
मंगलबार साँझ केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा र केन्द्रीय मन्त्री जितेन्द्र सिंहले गुरुग्रामको मेदान्ता अस्पताल पुगेर आमरण अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकसँग भेटघाट गरेका छन्।
यसअघि मन्त्री जितेन्द्र सिंहले प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरिरहेका कांग्रेस नेता राहुल गान्धीसँग पनि भेटेका थिए। सरकार र आन्दोलनकारीबीच वातावरण सहज बनाउन यो भेटलाई महत्त्वपूर्ण मानिएको छ।
‘संसदमा छलफल गर्न तयार, तर मन्त्रीको राजीनामा आउँदैन’
भारतीय अधिकारीहरूका अनुसार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्नु राजनीतिक प्रतिशोध मात्र हो र सरकार यसमा झुक्ने छैन।
नीट परीक्षाको पेपर लिकसम्बन्धी समस्याहरू सुल्झाइसकिएको र सम्पूर्ण प्रवेश परीक्षा सहज रूपमा अघि बढिरहेको सरकारको दाबी छ। सरकारले संसदभित्र यसबारे छलफल गर्न तयार रहेको तर मन्त्रीको राजीनामा भने नदिने स्पष्ट पारेको छ।
यता शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले कांग्रेस र राहुल गान्धीमाथि विद्यार्थीको भविष्यलाई लिएर राजनीति गरेको आरोप लगाएका छन्।
राहुल गान्धी र अखिलेश यादव हिरासतमा
संसद मार्चका क्रममा प्रहरीले गरेको कारबाहीको विरोधमा मंगलबार कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहितका शीर्ष विपक्षी नेताहरू प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्न पुगेका थिए।
प्रदर्शनका क्रममा प्रहरीले राहुल गान्धी र अखिलेश यादवसहित धेरै नेताहरूलाई हिरासतमा लिएको थियो। केही घण्टापछि उनीहरूलाई रिहा गरियो। समाजवादी पार्टीका कार्यकर्ताहरूले आफ्ना अध्यक्षलाई हिरासतमा लिएको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्।
‘संसद मार्च स्थगित, तर आन्दोलन जारी रहनेछ’
आन्दोलनको नेतृत्व गरिरहेको ‘ककरोच जनता पार्टी’ (सीजेपी)ले अब थप युवाहरू घाइते नहोऊन् भनेर तत्कालका लागि ‘संसद मार्च’ नगर्ने निर्णय गरेको छ। संगठनका संस्थापक अभिजीत दीपकेका अनुसार संसद मार्च रोकिए पनि जन्तर-मन्तरमा विरोध प्रदर्शन जारी रहनेछ।
सीजेपीले मुख्य गरि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, सोनम वाङचुकको रिहाइ तथा नीट पेपर लिकपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई १-१ करोड रुपैयाँ क्षतिपूर्तिको तीन सुत्रीय माग गरेका छन्।
यसैबीच, सीजेपीका प्रवक्ता सौरभ दासले आफ्नो ह्वाट्सएप एकाउन्ट ब्लक गरिएको दाबी गर्दै सरकारको इसारामा यस्तो गरिएको आरोप लगाएका छन्।
सुरक्षा कडा, बङ्गालबाट बोलाइयो सीआरपीएफ
स्थिति तनावग्रस्त बनेपछि गृह मन्त्रालयको निर्देशमा पश्चिम बङ्गालबाट केन्द्रीय प्यारामिलिट्री बल (सीआरपीएफ) का २० अतिरिक्त टोलीहरू हवाई मार्गबाट दिल्ली ल्याइएको छ।
प्रहरीले आन्दोलनका क्रममा भएको हिंसा, सरकारी कर्मचारीमाथि आक्रमण र सार्वजनिक सम्पत्ति तोडफोडको आरोपमा ११ वटा एफआईआर दर्ता गरिसकेको छ। र्यापिड एक्सन फोर्सका जवानलाई कुटपिट गरेको भिडियोका आधारमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
आन्दोलनको समर्थनमा अमेरिकाको न्युयोर्क र सान होजेमा ‘हिन्दूज फर ह्युमन राइट्स’ नामक संस्थाका कार्यकर्ताहरूले सोनम वाङचुकको समर्थनमा प्रदर्शन गरेका छन्।
अर्कोतर्फ, जन्तर-मन्तरमा बसिरहेका आन्दोलनकारीहरूका लागि भारतभरका मानिसहरूले अनलाइन फुड एपमार्फत खाना अर्डर गरेर पठाइरहेका छन्। देशका विभिन्न कुनाबाट अनलाइन अर्डर गरिएका खानाका डेलिभरी सामाजिक सञ्जाल र मिडियामा आकर्षणको विषय बनेका छन्।
साउन ६, २०८३ बुधबार १२:१७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।