नेतान्याहुलाई पक्राउ गर्ने कानुनी अधिकार मसँग होइन ट्रम्पसँग छ : मेयर ममदानी
एजेन्सी : न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन गर्ने अधिकार न्युयोर्क शहरसँग नभएको स्पष्ट पारेका छन्।
उनले यसका लागि अमेरिकी संघीय सरकारले नै आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै मेयर ममदानीले नेतान्याहु न्युयोर्क आएमा पक्राउ गर्न सकिने वा नसकिने विषयमा आफ्नो प्रशासनले कानुनको समीक्षा गरेको जानकारी दिए।
त्यसक्रममा न्युयोर्क शहरसँग स्वतन्त्र कानुनी अधिकार नभएको निष्कर्ष निस्किएको बताउँदै उनले संघीय सरकारलाई आईसीसीसँग सहकार्य गरी पक्राउ पुर्जी कार्यान्वयन गर्न आग्रह गरेका छन्।
मेयर ममदानीले गाजामा भएको विनाशलाई विश्वले गम्भीर रूपमा लिनुपर्ने भन्दै नेतान्याहुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने पक्षमा आफू रहेको प्रस्ट पारे। उनले आईसीसीले आरोप लगाएका अन्य सबै व्यक्तिको हकमा पनि समान कानुनी मापदण्ड लागू हुनुपर्ने धारणा व्यक्त गरे।
सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा इजरायलले गरेको सैन्य कारबाहीका क्रममा युद्ध अपराध तथा मानवताविरुद्धको अपराध भएको भन्दै हेगस्थित आईसीसीले सन् २०२४ मा नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आउँदा नेतान्याहुले पक्राउको सामना गर्नु नपर्ने आश्वासन दिएका छन्।
उता, नेतान्याहुको कार्यालयले भने मेयर ममदानीको भनाइलाई अस्वीकार गर्दै आईसीसीलाई ‘कङ्गारु अदालत’ (कानुनी आधार नभएको अदालत) को संज्ञा दिएको छ।
साउन ६, २०८३ बुधबार १०:४६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।